मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ७ मानपुरमा स्वास्थ्य चौकी भवनको शिल्यानास गरिएको छ । नगरको दक्षिण क्षेत्रमा पर्ने मानपुरमा स्वास्थ्य चौकी नहुँदा वडाबासी अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता भएपछि स्वास्थ्य चौकी भवन निर्माणको शिल्यानास गरिएको हो ।
बुधबार एक कार्यक्रमका बीच पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य र नगर प्रमुख केशवकुमार श्रेष्ठले संयुक्त रुपमा विधि पूर्वक स्वास्थ्य चौकी भवनको शिल्यानास गर्नुभएको थियो ।
स्वास्थ्य चौकी भवन शिल्यानास पछि बोल्दै पूर्व राज्यमन्त्री आचार्यले बर्षौ देखि मानपुरबासीको चाहना अब पूरा हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । साविक मानपुर गाविस समेत रहेको यस वडामा स्वास्थ्य चौकी हुनुपर्छ भन्दै स्वर्गीय वडाध्यक्ष राजेन्द्र सिंहले बनाउने पहल गरिरहेको स्मरण गर्दै सिंहको सपना अब साकार हुन लागेको उहाँले बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले स्वास्थ्य चौकीको काम तोकिएकै मितिमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । चालु आवमा नगर भित्र सञ्चालन भएको योजना मध्ये यो स्वास्थ्य चौकीको भवन ठूलो भएको भन्दै अबका केही महिना पछि मानपुरबासीले स्वास्थ्य सेवा यसैबाट पाउने बताउनुभयो । आफ्नो कार्यकालका नगर भित्र स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्दै आएको पनि उहाँले सुनाउनुभयो ।
गोरखनाथ कन्ट्रक्सन काठमाडौंबाट निर्माण हुने यो स्वास्थ्य चौकीको कूल लागत १ करोड १६ लाख रहेको छ । स्वास्थ्य चौकीको काम ०७९ असार २० गते भित्र सक्ने गरि योजना सम्झौता भएको नगरपालिकाकी इन्जिनियर निकिता त्रिपाठीले बताउनुभयो ।
केन्द्र सरकारको विशेष अनुदानबाट स्वास्थ्य चौकी बन्न लागेको नगरका प्रशासकीय अधिकृत राजन पोख्रेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया