१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

फागुन १३ गतेभित्र एमसीसी अनुमोदन गर्ने सरकारको तयारी



काठमाडौं ।अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबल भएको छ । सरकारले यही फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सम्झौता टेबल गरेको हो ।

टेबल भएको सम्झौताउपर भोलि (बिहीबार) बस्ने संसद् बैठकमा छलफल सुरु हुनेछ । अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको छ ।

एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले पहल गरिरहेको छ । तर, सत्तासाझेदार दलहरू नै सम्झौताको विपक्षमा उभिएका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा) भित्र डा. बाबुराम भट्टराई समूह मात्र एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा अबको दुई दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा जुटेका छन् । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गराउने देउवाको गृहकार्य छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) तथा सत्ता सारथि दल नेकपा (माओवादी केन्द्र)का नेतृत्वसँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिने वचन दिइसकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८ बुधबार ००:००  २ : ३५ बजे