दाङ ।
दुई वटा सरकारी कार्यालयबीचको समन्वयको अभावमा दाङमा निर्माणधीन तीन वटा सडकको काम रोकिएको छ । सडक पूर्वाधार कार्यालय र बँगलाचुली गाउँपालिकाले निर्माण गर्न लागेका सडकहरु प्रकृया नपुगेको भन्दै डिभिजन वन कार्यालय घोराही दाङले रोकेको हो । दाङमा निर्माणाधीन तीन वटा सडक डिभिजन वन कार्यालयले रोकेको छ ।
वातावरण प्रभाव मूल्याङ्कन बिना नै वन क्षेत्रबाट सडक निर्माण गर्न थालेको भन्दै डिभिजन वन कार्यालयले रोकेपछि बबई गाउँपालिकाको हापुरेबाट गँगटे जोड्ने १८ किलोमिटर सडकको काम चार महिनादेखी रोकिएको छ । साढे ५ मिटर चौडाइ सहितको स्तरोन्नती र ग्राभेल गर्न ५ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइ काम भैरहेको बेला वन कार्यालयले रोकेको निर्माण व्यवसायीले बताएका छन् । वातावरण प्रभाव मूल्याङ्कन बिना नै ३४ वटा रुख काटिएको उजुरी आएपछि काम रोक्न निर्देशन दिइएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
यस्तै बँगलाचुली गाउँपालिकाको गौरवको योजना अन्तर्गतको घोराही उपमहानगरपालिको १ मुलाबारीबाट सिमलतारा, हासीपुर, जबरकोट जोड्ने सडक स्तरउन्नति गर्नको लागि पनि ५ करोड ९ लाख बजेट विनियोजन भएको थियो । यो सडकको स्तर उन्नतिको काम पनि भएको छैन । बंगलाचुली गाउँपालिकाले आफै प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कन गर्न थालेको र आफैले मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेर नियम विपरीत काम गरेकाले सच्च्याएर मात्र काम गर्न भनिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।
सडक निर्माणको ठेक्का दिएको सडक पूर्वाधार विकास कार्यालयले भने लागत स्टिमेटमा रुख कटान गर्ने विषय नभएको तर काम गर्दा केही रुख काटिएकाले समस्या परेको सडक पूर्वाधार विकास कार्यालय दाङका ईञ्जिनियर चन्द्र वहादुर शाहले बताउनुभयो ।
प्रतिक्रिया