१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरियाबाट मौसमी कामदारको मागः सरकारी प्रक्रिया मार्फत मात्रै पठाउन मिल्ने श्रममन्त्री श्रेष्ठको भनाइ



काठमाण्डौ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरुले मौसमी कामदार विदेश पठाउँदा हुने अवसर र चुनौतीबारे छलफल गरेका छन् ।

मन्त्रालयमा हिजो भएको छलफलमा स्थानीय तहका प्रमुखहरुले कोरियाका कम्पनीहरुले आफ्नो क्षेत्रका युवालाई मौसमी कामदारका रुपमा लैजान प्रस्ताव गरेको भन्दै त्यसको अवसर र चुनौतीबारे मन्त्री श्रेष्ठसँग चासो राखेका थिए । मन्त्री श्रेष्ठले सरकारी प्रक्रिया भन्दा बाहिरबाट सम्झौता गरी कोरिया कामदार पठाउन नहुने बताउनुभयो ।

कोरियामा कामदार आपूर्तिबारे कोरिया र नेपाल सरकारबीच सरकारी स्तरको समझदारी भएको स्मरण गराउनुहुँदै मन्त्री श्रेष्ठले मौसमी कामदार पठाउन पनि सरकारीस्तरबाट टुङ्गो लगाउनुपर्ने बताउनुभयो । साथै उहाँले मौसमी कामदार पठाउँदा कामदारलाई भविष्यमा कुनै समस्यामा परे कोरिया सरकार जिम्मेवार नबन्ने हुनाले उद्धार र सहयोग गर्न असहज हुने बताउनुभयो । दक्षिण कोरिया, जापान, क्यानडा सहित विभिन्न युरोपेली देशका कम्पनीबाट पनि मौसमी कामदारको माग भएकोले त्यसबारे निर्णय लिन कार्यदलस्तरमा तयारी गरिने उहाँले बताउनुभयो । हाल सरकारले वैदेशिक रोजगारीमा मौसमी रुपमा जान श्रम स्वीकृति दिने गरेको छैन ।

स्थानीय तहका प्रमुखहरुले भगिनी सम्बन्ध स्थापना गरी आफ्ना क्षेत्रका युवालाई कोरिया लगायत देशमा कसरी पठाउन सकिन्छ भन्नेबारेमा छलफल गर्नुभएको थियो । छलफलमा ब्यास नगरपालिका तनहुँका प्रमुख बैकुण्ठ अर्याल, चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी, कमलामाइ नगरपालिका प्रमुख खड्गबहादुर खत्री, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे लगायत हुनुहुन्थ्यो ।

छलफलमा मन्त्रालयका सचिव एकनारायण अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले पनि आफ्नो विचार राख्नुभएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८ बुधबार ००:००  ८ : २५ बजे