९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पार्टी होइन गुट, बिचार होइन हुलका पछि कुदेको युवा पुस्ता




दीपक अनुरागी ।

प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्ति कार्ल माक्सले ३० बर्षको उमेरमा कम्युनिष्ट घोषणा पत्र लेखे ।

४१ बर्ष बाँचेका मदन भण्डारी शक्तिशाली कम्युनिष्ट पार्टीको महासचिव मात्र बनेनन्, ‘जननेता’को नाम युगौयुगसम्म कमाए । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपि कोइराला जम्मा ४६ बर्षको उमेरमा मुलुकको बागडोर सम्हाले भूमिकामा थिए । ३० बर्षे कलिलो उमेरमा निधन भएका मोतीराम भट्ट नेपाली साहित्यका माध्यमिक कालिन प्रवर्तक थिए । भट्ट नेपाली साहित्यका प्रथम गजलकार मात्र होइनन् श्रृङ्गारिक धाराका सुरुवातकर्ता समेत हुन् ।

यी हस्ति मात्र होइनन् कयौं संसारका गन्यमान्य व्यक्तिले कमै उमेरमा गहिरो छाप पारेर संसारलाई बाटो देखाउने काम गरेका छन् । आखिर गरे के हुँदैन् ?

सफलताका सुत्र विभिन्न तरिकाले परिभाषा गर्न सकिएला । आम रुपमा सफलताका सुत्रहरु साहस, कडा परिश्रम, धैर्य, असफलता झेल्नु, संगत, दृढ आत्मविश्वास आदि– आदि मान्न सकिन्छ । व्यापार, व्यवसाय, कला र बैज्ञानिक बन्न निरन्तरको अनुसन्धान, अध्ययन, निरन्तरता र मेहनत बिना सम्भव हुँदै हुँदैन् । यसो हो भने, के नेता बन्ने कुरा कसैको समर्थन, विरोध, ढुंगामुढा, चर्का भाषणले मात्र सम्भव होला त ? पक्कै हुँदैन् ।

२००७ साल यता नेपालमा भएका राजनीतिक परिर्वतनमा हाम्रा पुस्ताले गरेको त्याग, तपस्या र बलिदानलाई नजरअन्दाज गर्न मिल्दै मिल्दैन् । आफ्नो व्यक्तिगत जीवन, पारिवारिक जिम्मेवारी सबै भुलेर देश र जनताका लागि ज्यानको आहुती दिने महान नेताहरु प्रति हामी सधै नतमस्तक हुनै पर्छ । तर, विगतका कमि कमजोरी, भूल इत्यादी विषय उठान गर्न भने छाड्नु हुँदैन् । मानव यस्तो प्राणी हो, जो गल्ती कसैले कहिल्यै नगरेको होस् ।

प्रसंग हाम्रो राजनीतिक पुस्तामा हुर्किरहेको पार्टी होइन् गुट, विचार होइन् हुलको पछि कुद्ने जमात बारे । ०६२/०६३ सालको दोस्रो जनआन्दोलन पश्चात नेपालले जसरी उन्नती, प्रगती गर्नुपर्ने हो त्यो गर्न सकेन् । ०७२ सालमा संविधान जारी भएपनि गरिबी, बेरोजगारी, पछौटेपन, भ्रष्ट्राचार, कुशासनले जडा दिनप्रतिदिन गाडिरहेकै छ । हामीले व्यवस्था प्रति सधै प्रश्न गरिरह्यौं । त्यसैले त नेपालीले भने जस्तो शासन आयो ! तर नियति उस्तै–उस्तै दोहोरि रहेको छ । कतिपयले यहीँ समस्यालाई टेकेर अहिलेको व्यवस्था प्रति निरन्तर प्रश्न उठाइरहेका छन् । शासन गर्ने शासकको ढंग नपुग्नु फरक कुरा हो, अहिलेको व्यवस्था आफैमा गलत छैन्, समस्या प्रवृत्तिमा छ । जबसम्म प्रवृत्तिमा आमुल परिवर्तन हुँदैन् । तबसम्म संघर्ष र बलिदानबाटै साम्यवाद ल्याएपनि समस्या उस्तै हुन्छ ।

आजभोलि चोक चौतारा, सार्वजनिकस्थल चारैतिर सुनिने एउटै शब्द हो, जबसम्म युवा पुस्ता राजनीतिक नेतृत्वमा आउँदैनन् तबसम्म यो मुलुक बन्दैन् । विश्वका उदाहरण छाडौं, मदन भण्डारी, विपि कोइराला लगायतका नेताहरु हाम्रै आखाँ अगाडी युवा पुस्तामै लोकप्रिय भएको उदाहरण हाम्रो सामु त छदैँ छ । अहिलेको राजनीतिक नेतृत्वमा रहेको पुस्ता प्रति भरोसा टुट्दै गएको हो की जस्तो लाग्ने गर्छ, युवा पिढी राजनीतिक नेतृत्वमा पुग्नै पर्ने दबाबमुलक टिकाटिप्पणीले ।

अहिले व्यवस्था माथि प्रश्न उठाउने भन्दा नेतृत्व प्रति प्रश्न उठाउने कयौं गुणा बढी छन् । जुनसुकै दलका हुन् नेतृत्व तहमा पुगेर काम गरिरहेकाहरु आफ्ना कार्यकर्ता बाहेक आम नागरिकको नजरमा सकारात्मक छाप पार्न सकेका छैनन् । हिजोको परिवर्तनमा उनीहरुले गरेका त्याग, तपस्या र बलिदान वर्तमानमा देखिएको भाडभैलो, अराजकता, अराजनीतिक गतिविधिले जनताको बीचमा सबै सिध्याइदिएको छ । यसको दोष सबैमा छैन्, केही बाहेक । कसको कारणले यस्तो भएको हो ? यसको समग्र ब्याख्या छुट्टै गर्नुपर्ने हुन्छ ।

के राणा, राजा, पञ्चायत संगै संघर्ष गरेका आएका नेता आफ्नै कारण खराब हुन पुगेका हुन् ? व्यवस्था परिवर्तन भएपनि, अवस्था परिवर्तन नहुनुमा नेतृत्वदायी भूमिकामा रहेका नेताहरु मात्र खराब हुन् ? के चोकचौरामा सुनिने युवा पुस्ताको काँधमा जिम्मेवारी आउँदैमा आमूल परिवर्तन भै हाल्छ त ? यी यस्ता प्रश्न कतिपयका मनमा घुम्ने गरेको छ ।

अहिले देखिएको समस्याको मूल कारण न व्यवस्था हो, न त नेतृत्वदायी भूमिकामा रहेका नेताहरु नै । समस्या तपाईँ हामी भित्रै छ । हरेक ५÷५ बर्षमा नेता छान्ने अधिकार पाएकै छौं । नेताले गर्ने कामको जानकारी मात्र होइन् प्रश्न उठाउने अधिकारले सम्पन्न भएकै छौं । आफ्ना विचार खुलमखुल्ला राख्न पाएकै छौं । तरपनि, समस्या त छदैँ छ ।

०६२/०६३ को राजनीति परिवर्तनसंगै दलहरुमा देखिएको विचार, कार्यनिति, कार्यशैलीगत समस्याले आजको यो भद्रगोल आएको भन्न कत्ति कन्जुस्याई छैन् । राजनीतिक परिवर्तन पश्चात हामीले के गर्छौै ? कस्ता कार्यकर्ता बनाउँछौं ? कस्तो विचार बोक्छौं ? कस्तो कार्यशैली अपनाउँछौं ? यी ज्वलन्त विषयमा कुनैपनि राजनीति दलका नेता तथा कार्यकर्ता चिन्तित भएको पाइएन । देशका ठूला भनिएका कांग्रेस, एमाले र माओवादी भित्र देखिएको गुट–उपगुटको शिकार सबैभन्दा बढी भएको छ त ४० बर्ष मुनिका हामी युवा पुस्ता भएका छौं । हामी यस्तो माहोलमा हुर्कियौं ।

जहाँ पार्टी बुझ्नु पर्नेमा गुट बुझ्यौं, विचार बुझ्नु पर्नेमा हुलका पछि कुद्यौं । राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका खेल्ने कांग्रेस, एमाले र माओवादी मुलुतः जनताको बीच लोकप्रिय नै बने । जनताको विश्वास यी दलमा देखिनुपनि स्वभाविक थियो ।

किनकी राणा फाल्ने कांग्रेस, पञ्चायत फाल्ने एमाले र राजा फाल्ने माओवादी नै थिए । नसोचेको राजनीतिक परिर्वतन आएको नेपालमा, नसोचेको जनमत पाउँदा दलहरु आफ्ना मूल्य मान्यता, आर्दश, सिद्धान्त सबै बिर्से । देशलाई डोराएर अब आर्थिक समृद्धिको महान उद्धेश्यमा केन्द्रीत हुन छाडेर ठूलो पार्टीको अध्यक्ष कसरी बन्ने ? प्रधानमन्त्री के गर्दा बनिने हो त्यसै गरि बन्ने, मन्त्री, राजदुत यस्तै यस्तै ठूला राजनीतिक नियुक्ति कसरी कुम्हाल्याउने हो कुम्ल्याई हाल्ने उद्धेश्य केन्द्रीत राजनीतिले भयाङ्कर जडा गाड्दै गाड्दै आजको स्थितिसम्म ल्यायो ।

त्यसैको पछि पछि, नेताले जसो जसो भन्छ, त्यतै त्यतै कुद्नेमा हाम्रो युवा पुस्ता पनि परेको छ । ०६५ यता एक पटक ०७३ सालमा मात्र स्ववियु चुनाव भयो । नेविसंघको महाधिवेशन नभएको दशक वित्यो । अनेरास्ववियूमा देखिएको गुटको शिकार कोही भएको छ भने, अहिलेको नेतृत्वमा पुगेका नेता भएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) को गति अचम्म लाग्दो छ । पार्टीको नर्सरीका रुपमा लिइने भातृ संगठनको यो अवस्थाका बावजुत पार्टी ठूला ठूला भएकै छन् । पार्टीमा खासै असर नपरे पनि हालको युवा पुस्ता कसरी उत्पादन गर्दै छौं ? नेताहरुले बुझ्न, सोच्न र चिन्ता लिन पर्दैन् ?
त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव गर्न नसक्नुको मुख्य जिम्मेवार विद्यार्थी संगठन नै हुन् । संगठन भित्रका विवाद मिल्न नसक्दा यसको असर स्ववियु निर्वाचनमा परेको छ ।

पञ्चायतको पालामा हुने स्ववियु चुनाव अहिलेसम्म हुन नसक्ने आफैमा लज्जास्पद कुरा हो । विद्यार्थी संगठन भित्र विचारको कारण समस्या होइन् । समस्या गुटकै हो । त्यो गुटको मलजलकर्ता युवा पुस्ता भएको छ । हामी सिद्धान्तमा होइन् गुटगट मानसिकताबाट प्रश्न गर्दै आएका छौं । जब यसो गर्छौ समस्याको समाधान दुर बनि दिन्छ । माउ पार्टी पनि यसको मुख्य जिम्मेवार त हुँदै हुन् । जब नेताले विद्यार्थी संगठनमा गुट गर्दैन्, तब पो समस्या समाधान हुने हो । न गुट गर्ने नेतामाथि हामी प्रश्न गर्न सक्छौं, न गुट नगर्ने क्रियाकलाप बन्द गर्न नै । फेरि गुट नगर्ने हो भने पलायनको स्थिति त विद्यमान छदै छ !

जुन नेता गुटको विरोधमा जान्छ त्यो नेता सिद्धिन्छ भन्ने पूर्व एमाले हेरे काफि छ । १५ बर्ष पार्टी प्रमुख भएका माधवकुमार नेपाल र झलनाथ खनाल माथि सधै एउटै प्रश्न उठ्छ, ‘आफु पदमा पुगेको बेला आफ्ना गुटका व्यक्ति उनीहरुले संरक्षण गर्न सकेनन् ।’ माधव कुमार नेपाल पार्टी प्रमुख हुँदा केपी ओली नेपालको साथ मै थिए । उनले देशभर गुटका नेता तथा कार्यकर्ता निर्माण गरिरहदा माधव कुमार नेपाल पार्टीमा विधि, पद्धति र योग्यता हुनुपर्छ भनिरहे । फलस्वरुप १५ बर्ष पार्टी प्रमुख भएको व्यक्ति र पछि–पछि पार्टीको बागडोर सम्हाल्दै आएका झलनाथ खनालको स्थिति अहिले यो हालतमा पुगेको छ ।

ओलीले पार्टी र राज्यको सत्तामा हुँदा उनले आफ्ना गुटका व्यक्तिमाथि गरेको संरक्षणका उदाहरण सय होइन् हजारौं छन् । तत्कालिन एमालेमा विचारको लडाईँ विद्यमान थियौ नै । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाएको एमाले भित्र यो विषयमा लामो विवाद हो । झलनाथ खनाल पक्षले निरन्तर विचारको सवाल पार्टी भित्र उठाइरहेको थियो । ओलीले गुटबाट जसरी शक्तिशाली भएर पार्टी कब्जा गरे । विचार गौण भैदियो ।

उनका तल्लो तहका कार्यकर्ता समेत उनका पछि पछि कुदे । अहिले एमालेमा जो ओलीको विरोधमा उत्रन्छ, त्यो एमाले विरोधी भैहाल्छ । के यहीँ हो त ?
चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता माओ त्से तुङ् भन्छन्, ‘एक्लै बन तर सत्यको बाटो नछोड ।’ अहिलेको युवा पुस्ता एक्लो बन्ने गरि राजनीतिमा लागेका कमै मात्र छन् । विचारका कुरा भन्दा हुलको पछि कुद्ने पुस्ता बढी देखिन्छ । पठन संस्कृति हराएको त छदै छ पार्टीले दिने बैचारिक प्रशिक्षण पनि एकादेशका कथामा रुपान्तरण भएका छन् । कतिपय बैचारिक प्रशिक्षण शास्त्रिय शैलीले दिदा बुझ्न नसक्ने जमात पनि उत्तिकै छ । सरल र सहज बैचारिक प्रशिक्षणको जरुरी छ ।

०७४ मा भएको संसदीय निर्वाचनले अबको यात्रा समृद्धि हो भन्ने प्रष्ट सन्देश दिएको थियो । राजनीति स्थिरतासंगै देशको विकास दु्रत हुने विश्वासमा आम नागरिक थिए । तर, केपी शर्मा ओली प्रधानमन्त्री भएपछि समाजवादको गोरेटो कोर्ने कुनै विषय आउन सकेन् । तीन बर्षसम्म नीति र कार्यक्रमसहितको बजेट ल्याएको केपी ओली सरकारले समाजवादको ‘स’ उच्चारण गर्ने बजेट ल्याएन । यतिमात्र होइन् त्यो सरकारले गरेका ठूला ठूला भ्रष्ट्रचारका मुद्धामा प्रश्न उठाउनेहरु केपीका विरोधी मात्र हुन् भन्ने गरी एकोहोरो गौयबल्स शैलीबाट प्रचार गरियो ।

जुन ओलीले जनमतको अपमान गरेर संसद विघटन गरे । जसले मध्य रातमा भारतीय रअका प्रमुखसंग साटघाट गरि एकीकृत कम्युनिस्ट पार्टी विघटन गरे । जसले हरेक बजेटमा पुजीवादलाई पोस्ने निति कार्यक्रम बनाए । संघीयता कार्यान्वयन गर्ने म्यान्डेट पाएका यिनैले प्रदेश र स्थानीय सरकारलाई संकुचित पार्ने काम गरे । जसले शिक्षा ऐन ल्याउनै सकेनन् ।

यिनैका राइट हेण्ड मानिनेबाटै यति, ओम्नी, बालुवाटार जस्ता काण्ड घटाए, ७० करोडको बार्गेनिङ खुलेयाम यिनैका नेताबाट भयो । देशमा स्थिरता भन्दा अस्थिरता सिर्जना यिनैबाट भयो । कम्युनिस्टको न्यूनतम आचारण यिनमा रहेन । जसले रामपन्थीबाटो अवलम्बन गरि रथयात्रा गरे ।

कोरोनाको महामारीमा काठमाडौंबाट जनतालाई हिडालेरै मेची–महाकाली पुर्याए । अक्सिजन दिन नसकेर जनतालाई अकालमै मारे । गूठी बिधेयक ल्याएर धार्मिक सहिष्णुता खलबल्याउने काम उनैबाट भयो । चुनावताका सुकुम्बासीलाई लालपुर्जा दिन्छौं भनेर भोट मागे पनि तीन बर्षसम्म माखो मारेनन, बरु संसद विघटन गरि चुनाव घोषणा गरेको बेला आयोग बनाएर जनता झुक्काए ।

के यी व्यथेतिका श्रृङ्खलामा प्रश्न गर्ने विरोधी मात्रै हुन् ? यही गति र मति भएको भए कार्ल माक्स, मदन भण्डारी, विपि कोइराला र मोतिराम भट्टको उदाहरण यसरी पस्कन सकिन्थ्यो ? राणा, राजा र पश्चायतले आफ्नो शक्ति हत्याउनका लागि विकल्प कतिसम्म सोच भने, जसले विरोध गर्छ, त्यसैलाई मागेको पद, प्रतिष्ठा र सम्मान दिइहाल्ने ।

पञ्चायतको समर्थन गरेकै कारण शिक्षक र निजामती कर्मचारी बनि हाल्ने परिस्थिति उ बेला थियो । जसले विरोध गथ्र्यो त्यो मर्न तयार हुनुपथ्र्यो । नेपालका महान शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ मर्ने रहर भएर राणा शासनको विरोधमा उत्रिएका थिएन् । उ बेला गल्तिलाई गल्ति हो भन्दा मारिने समयमा मर्न तयार हुने नेपाली हामी अहिले आँखै अगाडीको गल्ति देख्न नसक्नु कहाँसम्मको विचार शून्यता होला ?

(अनुरागी अनेरास्ववियूका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सचिव हुन्)

लेखकबाट थप

अस्थिरताका नायक ओली र पुस ५ मा चालेकोे प्रतिगमन

सबै सकिएर ब्राण्डको व्यापारमा लागेको एमाले र ओली प्रवृत्ति

‘भीम र घनश्यामहरु’ माथि अनुत्तरित प्रश्न !

नयाँ पुस्ता राजनीतिमा आउनुको विकल्प छैन्

प्रकाशित मिति : ८ फाल्गुन २०७८ आइतबार ००:००  ८ : १६ बजे