१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नृत्य दिवस मनाउन लुम्बिनीका ५३ जना कलाकार काठमाण्डौंमा



बुटवल ।

राष्ट्रिय नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका कलाकारको टोली काठमाण्डौं पुगेको छ । नृत्य निर्देशक संघ नेपाल र मध्यपुर ठिमी नगरपालिकाको सहकार्यमा आज शुक्रबार राष्ट्रिय नृत्य दिवस मनाइंदै छ । दिवसका अवसरमा ऐतिहासिक सांस्कृतिक कार्यक्रम गरिने संघले जानकारी दिएको छ ।

नृत्य दिवसमा सहभागिताका लागि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नृत्य निर्देशक सहित ५३ जना कलाकारको टोली काठमाण्डौं गएको हो । जसमा २८ जना पुरुष र २५ जना महिला छन् । अर्घाखाँचीबाट ६ जना, कपिलवस्तुबाट ७ जना, बुटवल नगर कमिटीबाट ८ जना, रुपन्देही जिल्ला शाखाबाट १० जना, दाङबाट ७ जना, पाल्पाबाट १० जना र बर्दियाबाट दुईजना कलाकार दिवसमा सहभागी हुन काठमाण्डौं गएका हुन् ।

त्यस्तै पर्यवेक्षकको रुपमा संघका प्रदेश सल्लाहकार चिरन बराल र रुपन्देही शाखाकी प्रेस सल्लाहकार मनु गुरुङले सहभागिता जनाउँदै छिन् । नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले शुक्रबार आयोजित नृत्य दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८ शुक्रबार ००:००  १२ : ५४ बजे