९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

६ गते बोलाइएको संसद् बैठकमा एमसीसी टेबल हुन्छ: मन्त्री बडू



काठमाण्डौ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रवार ६ गते् बोलाइएको प्रतिनिधि सभा बैठकमा टेबल हुने बताउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री बडुले दलहरूबीचको सहमतिमै एमसीसी सम्झौता अघि बढाउन आवश्यकता महसुस गरेरै सरकारले आज र भोलि दुई दिनको समय दिएको पनि स्पष्ट पार्नुभयो ।

आज बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीलाई टुङ्गो लगाउने सार्वभौम संस्था संसद् भएकाले त्यहीँ छलफल गरेर टुङ्गो लगाउन सरकारले चाहिरहेको बताउनुभयो ।

मन्त्री बडुले त्यो सम्झौतामा सहमति जुटाउन सरकारले सबै दललाई आह्वान गरिरहेको पनि स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘यो संसदमा प्रवेश गर्नुपर्छ । संसदमा टेबल हुनुपर्छ । सार्वभौम संस्था संसद यसबारे बोल्ने संस्था हो । यसमा प्रवेश गराऔँ । बाहिर सडकमा भइराखेको बहसलाई टुङ्ग्याउन पनि संसदमै पुग्नुपर्छ । सडकको बहसले यसको टुङ्गो लाग्न सक्दैन । त्यस कारण यसलाई टुङ्ग्याऔँ भन्ने हाम्रो पार्टीको सरकारको प्रस्ताव हो । आज र भोलि दुई दिनको समयमा थप सहमति जुटाएर ६ गते टेबल गर्ने सहमति बनाउँदैछौँ ।’

मन्त्री बडुले विगतमा बनेका सबै पार्टी नेतृत्वको सरकारले आवश्यक्ता बोध गरेको एमसीसीलाई वर्तमान सरकारले संसदबाट पारित गराउन पहल गरेको बताउनुभयो । उहाँले दुई दिनभित्र यो सम्झौता संसदबाट पारित गराउन दलहरूबीच सहमति हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८ बुधबार ००:००  ४ : ०९ बजे