कपिलवस्तु ।
विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ । विप्लवको गृह जिल्ला समेत रहेको कपिलवस्तुमा बन्दको प्रभाव आशिंक रुपमा पर्दै आएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा बन्दको प्रभाव खासै पर्दैन । मधेसी समुदायको बाहुल्यता रहेको कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्ज जस्ता बजारमा बन्दको प्रभाव सामान्य छ । यहाँ विहानै देखि पसलहरु सञ्चालन भैरहेका छन् भने साना सवारी साधन सञ्चालनमा छन् ।
सदरमुकाम तौलिहवा र मुख्य व्यापारिक केन्द्र चन्द्रौटामा बन्दको प्रभाव देखिन्छ । यहाँका पसल, व्यवसायहरु छिटफुट रुपमा सञ्चालनमा आएपनि पूर्णतया बन्द छन् । यस्तै मध्यम बजार इमिलिया, गोरुसिंगे, बनगाई, बोडगाउँमा पनि बन्दको प्रभाव परेको देखिन्छ ।
यता कपिलवस्तुको प्रमुख बजार चारनम्बरमा बन्दको प्रभाव सामान्य जस्तो छ । यहाँ बन्द निषेधित क्षेत्र घोषणा भएको स्थान हो । विगतमा देशभर बन्दको प्रभाव पर्दा यस क्षेत्रमा बन्दको प्रभाव नपरेको उदाहरण छ । यद्यपि सबै पसल व्यवसाय सञ्चालन नभए पनि केही पसल सञ्चालनमा छन् भने मोटरसाइकल, रिक्सा लगायतका सवारी साधन चलेका छन् ।
बन्दको प्रभाव शैक्षिक संघ संस्थामा पनि परेको छ । जिल्लाका अधिकांश शैक्षिक संस्था बन्द छन् । विप्लवको गृहजिल्लाको रुपमा रहेको कपिलवस्तुमा बन्द शान्तिपूर्ण रुपमा हुँदै आएको विगतको नजिर छ ।
यता आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । प्रहरीकाअनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।
प्रहरीले ढुक्क भए गाडी चलाउन आग्रहसमेत गरेको छ । यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी को विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।
राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको नेता सीपी गजुरेलले बताए ।
प्रतिक्रिया