९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रोल्पामा महिलालाई पञ्चेबाजा तालिम



रोल्पा ।
पञ्चे बाजा संरक्षणका लागि रोल्पामा महिलाहरुलाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ । रोल्पा नगरपालिका वडा नं ४ को वडा कार्यपालिकाले महिलालाई बाजा बजाउने तालिम दिएको हो ।

वडाध्यक्ष नवराज आचार्यले रैथाने संस्कार, संस्कृति र परम्परा जोगाउन महिलालाई पनि जिम्मेवारी दिन पञ्चेबाजा बजाउने तालिम दिएको बताए । सदरमुकाम लिबाङमा बाजा बजाउनेहरु नभएकाले यसअघि भित्री गाउँबाट बाजा बजाउनेलाई बोलाइन्थ्यो ।

आधा दर्जन महिलालाई तीन सातासम्म पञ्चेबाजा बजाउन तालिम दिएको वडा सचिव धर्मराज डाँगीले बताए । उनका अनुसार नगरले तीन लाख रुपैयाँ बजेटबाट बाजा खरिद गर्न र बाजा बजाउने नियमित तालिमको व्यवस्था गरेको हो ।

महिलालाई समेत तालिम दिएर नगरले संस्कृति संरक्षणमा योगदान दिएकोमा खुसी लागेको पञ्चेबाजा तालिम प्राप्त महिला समूहकी संयोजक गीता थापा आचार्यले बताइन् ।

रोल्पा नगर प्रमुख पूर्ण केसीले संस्कृति र परम्परासँग बाजागाजा र नाचहरुको संरक्षण गर्नु स्थानीय तहको दायित्व भएको बताए । ‘नगरले सुरुवात अवस्थामा पनि पुरुषलाई पञ्चेबाजाको तालिम दिएको थियो । महिलाले पनि सिकेकाले अब संरक्षण हुनेमा विश्वास लागेको छ,’ नगर प्रमुख केसीले भने ।

बाजागाजा सिकेकामा गैरदलितहरु पनि छन् । यसअघि दलित पुरुषले मात्रै बजाउने पञ्चेबाजा तालिममा बाहुन, क्षत्री, मगर र ठकुरी महिलाले समेत भाग लिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८ मंगलबार ००:००  ८ : ३४ बजे