कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा थारु कल्याणकारीणी सभाको भवन र झुलुङ्गे पुलको एकैसाथ शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ नेवलागञ्जमा थारु कल्याणकारीणी सभाको भवन र नौडिहवा–गोबरहवा जोड्ने विशवा खोलामा झोलुङ्गे पुलको शिलान्यास गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल थारुले सोमबार कल्याणकारीणी सभा भवनको संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो भने पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरीले झुलुङ्गे पुलको शिलान्यास गर्नु भएको हो । थारु कल्याणकारीणी सभाको भवन रु। ८ लाखको लागतमा निर्माण हुन लागेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल थारुले जानकारी दिनुभयो । कल्याणकारीणी सभाको भवन गाउँपालिकाको सहयोगमा भवन निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।
यस्तै नौडिहवा– गोबरहवाको विशवा खोलामा केन्द्र सरकारको सहयोग र गाउँपालिकाको साझेदारीमा झुलुङ्गे पुल रू।८० लाखको लागतमा निर्माण हुन लागेको निर्माण उपभोक्ता समितिकी अध्यक्ष प्रदेशनी थारुले जानकारी दिनुभयो । उहाँले आगामी असार मसान्तभित्र पुलको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वडा नम्बर १ का नागरिकले पालिकाकै सबैभन्दा बढी विकट क्षेत्रमा बस्दै आएको बताउँदै नेवलागञ्जको विशवा खोलामा पक्की पुल र नौडिहवा–गोबरहवा जोड्ने खोलामा अब झुलुङ्गे पुल बनेपछि आवतजावत गर्न सहज हुने बताउनुभयो ।
नेवलागञ्जको विशवा खोलाको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारीसमेत उहाँले दिनुभयो । आगामी दिनमा पनि भौगोलिक बनोटका अनुसार र जनताका आवश्यकता र चाहना अनुसार बजेट विनियोजन गरिने अध्यक्ष थापाले बताउनुभयो ।
विशवा खोलामा पुल नहुँदा स्थानीयलाई वर्षातको याममा आवतजावत गर्न निकै समस्या पर्दै आएको थियो । स्थानीयबासीले वर्षेनी ज्यान जोखिम मोल्दै खोला तर्दै आएका छन् । खोलामा पुल बन्ने भएपछि स्थानीयबासी खुसी भएको स्थानीय समाजसेवी कृपाल चौधरीले बताउनुभयो।
प्रतिक्रिया