९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अभिषेक प्रताप शाहले शिवराजमा मेयर पदको उम्मेद्वार घोषणा गरेपछि…



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले शिवराज नगरपालिकामा मेयर पदको उम्मेद्वारको नाम घोषणा गरेका छन् ।

सरकारले बैशाख ३१ मा स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै सांसद शाहले सामाजिक सञ्जाल मार्फत शिवराज नगरको मेयर पदमा आफ्नो नजिकका व्यक्तिको नाम सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन् ।

शाहले युवा नेता अजय थापालाई शिवराजको मेयर पदमा उम्मेद्वार बनाउने घोषणा गर्दै थापा प्रति माया, ममता देखाउन आग्रह गरेका छन् ।

शाह फेसबुकमा लेख्छन्, ‘कपिलवस्तु शिवराज नगरपालिकाको भविष्य, लोकप्रिय भाई अजय थापालाई नेपाली कांग्रेसको नगर प्रमुख पदको लागि उपयुक्त उम्मेदवारको रूपमा अगाडी सार्द छु, सबैमा अजय भाई प्रति माया, ममताको हार्दिक अपिल पनि गर्दछु । जय नेपाल ।’

नेता शाहले सामाजिक सञ्जालमा लेखेको पोस्ट् प्रति धेरैले सहानुभूति देखाए पनि कांग्रेसका नेता भने आश्चर्य चकित परेका छन् । पार्टीको जिम्मेवार नेता तथा सांसदले अहिले नै हतार गरी सामाजिक सञ्जालबाट उम्मेद्वारको नाम घोषणा गरेको प्रति नेताहरुको आपत्ति छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका महामन्त्री सुरेन्द्रराज आचार्यले सांसद शाहले शिवराजको सन्दर्भमा बाडेको पद प्रति आपत्ति जनाउनुभएको छ । पार्टीका जिम्मेवार व्यक्ति शाहले घोषणा गरेको मेयर पद आधिकारिक नभएको भन्दै महामन्त्री आचार्यले यस्ता कुराको पछि नलाग्न आग्रह गर्नुभएको छ । यो विषयमा सांसद शाहसंग पार्टीले स्पष्टिकरण सोध्ने पनि नेता आचार्यले स्पष्ट पार्नुभयो ।

‘शाहको पोस्ट् प्रति म पनि आश्चर्य चकित परेको छु, धेरै नेता तथा कार्यकर्ताले यस विषयमा मलाई जानकारी दिईसकेका छन्, मायादेवी अनलाइनसंग कुराकानीको क्रममा उनले भने, अहिले म यसै विषयमा छलफलमा छु । अब छिट्टै पार्टीले स्पष्टिकरण सोध्छ ।’

कपिलवस्तुमा कांग्रेस बलियो भएको चर्चा चलिरहेका बेला पार्टी भित्रको गुट, उपगुट पनि छताछुल्ल हुन थालेको छ । पार्टीको आधिकारीक निर्णय विपरित जिम्मेवार नेताबाटै स्थानीय तहको टिकट वितरण गर्न थाल्दा कांग्रेस कपिलवस्तु कति काचो छ भन्ने देखाउँछ ।

नेता शाहले मेयरमा घोषणा गरेका थापा गएको स्थानीय तहमा राप्रपाबाट शिवराजको मेयरमा उठेका थिए । प्रदेश र संघीय चुनावको मुखैमा कांग्रेस प्रवेश गरेका उनी प्रदेश सभा सदस्यमा कांग्रेसबाट उठेर पराजित भएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७८ शनिबार ००:००  ३ : ३९ बजे