९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाः आज नेपाल र ओमान खेल्दै



काठमाडौं ।

चार देशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो ।

विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृङ्खला खेल्न लागेको हो । यो श्रृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी–२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ । नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटअघि यसलाई १४ सदस्यीय टोलीमा झार्नुपर्नेछ ।

सन्दीप लामिछाने कप्तान बनेपछि यो उनको पहिलो खेल पनि हो । नेपालले ओमानसँग टी–२० मा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । यो खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीमध्ये समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८ शुक्रबार ००:००  ८ : २४ बजे