मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन वापत रकम दिने भएको छ । जीवनको अन्तिम समयसम्म स्वास्थ्य स्वयंसेविका मार्फत गाउँ गाउँमा सेवा गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई बुद्धभूमिले जनही दुई हजारका दरले रकम दिने तयारी गरेको हो ।
नगर प्रमुख केशवकुमार श्रेष्ठले यहीँ आउँदो माघ महिनामा उमेर हदबन्दीले सेवाबाट अवकास हुँदै गरेका ३३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आजसम्म काम गरेको बर्षको आधारमा प्रत्येक एक बर्ष बराबर दुई हजार रुपैयाँ दिइने बताउनुभयो ।
६० बर्ष उमेर काटेका स्वयंसेविकाले आफ्नो कामबाट अवकास लिनुपर्ने हुन्छ । सोही उमेर हदले बुद्धभूमिबाट ३३ जना यहीँ महिना देखि अवकास पाउँदै छन् । तिनीहरुलाई राज्यले प्रत्येकलाई २० हजारका दरले रुपैयाँ दिने गरेको छ । जीवनभर निशुल्क रुपमा सेवा गर्दै आएपनि राज्यले दिने रकम कम भएकाले नगरबाट उनीहरुले काम गरेको आधारमा प्रत्येक बर्ष बराबर २ हजार दिने तयारी भएको नगर प्रमुख श्रेष्ठले मायादेवी अनलाइनलाई बताउनुभयो ।
नगरको त्यसका लागि कार्यविधि तयारी पारिसकेको उहाँले बताउनुभयो । हिउँदे सभाबाट बजेट पनि छुट्टाएको उहाँको भनाई छ । नगर भित्र झण्डै १ सय ४१ जना महिला स्वास्थ्य स्वयंसेविका छन् । ती मध्ये ३३ जनाले उमेर हदका कारण सेवा छाड्न थालेका हुन् । ती मध्ये २७ जना महिला स्वास्थ्य स्वयंसेविकाले २८ बर्षसम्म काम गरेका छन् । यिनीहरुले २८ बर्षको नगरबाट ५६ हजार पाउनेछन् । अरुले सेवा गरेको वापतको बर्षको आधारमा प्रोत्साहन रकम पाउनेछन् ।
प्रतिक्रिया