९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा जेसिजका राष्ट्रिय अध्यक्षदेखि पूर्वमन्त्री र सांसदले गरेको ‘गल्ती’



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

कपिलवस्तु जेसिजले विहिबार साँझपख बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टमा २२ औँ पदस्थापन कार्यक्रम राख्यो । अर्थात् जेसिज बर्ष २०२१ का अध्यक्ष भीमकान्त भट्टराईले भर्खरै सर्वसम्मत चुनिएका अध्यक्ष गुरुदेव पौडेल २०२२ लाई पद हस्तान्तरण गर्दै थिए । कार्यक्रम हल सजाएर चिटिक्क पारिएको थियो । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष, उपाध्यक्षदेखि पूर्वमन्त्री, सांसद, वडाध्यक्ष लगायत बिभिन्न शाखाका पदाधिकारी गरी करिब ८० जनाको हाराहारीमा विशिष्ट मानिसहरु सहभागि थिए ।

दिउँसो करिब पौने ४ बजेतिर कार्यक्रम शुभारम्भ भयो । कार्यक्रमका संचालक थिए कपिलवस्तु जेसिज बर्ष २०२१ का महासचिव अमृत घिमिरे । अमृत घिमिरेबाट बोल्न सुरु भएको सो कार्यक्रममा आधा दर्जन बढी विशिष्ट ब्यक्तिहरुले भाषण गरे तर कसैले पनि जेसिज संस्थाको शुद्ध उच्चारण गर्न सकेनन् । कार्यक्रमको ब्यानरमा पनि ठुलो अक्षरले जेसिज नै लेखिएको थियो । तथापि त्यहाँ पनि कसैले ध्यान दिन सकेनन् ।

जेसिज संस्थाको नाम भए पनि मञ्चमा बोल्नेहरु सबैले जेसिस जेसिस मात्र उच्चारण गरिरहे । एकपटक मात्र होइन पटकपटक उच्चारण गर्दा पनि उनीहरुले जेसिस नै भनिरहे । शुद्धोच्चारणमा ध्यान पुर्याउन सकेनन् ।

कपिलवस्तुका पूर्व अध्यक्षहरुको तर्फबाट रुक बहादुर भुसाल, सुन्दर पाण्डे, निवर्तमान अध्यक्ष भीमकान्त भट्टराई, हालका अध्यक्ष गुरुदेव पौडेल, कपिलवस्तु जेसिजको मातृशाखा शारदानगर जेसिजका पूर्वअध्यक्ष प्रमिशा काफ्ले, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाही, राष्ट्रिय उपाध्यक्ष संदिप अग्रहरी, पूर्व मन्त्री दीप कुमार उपाध्याय, लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, प्रमुख अतिथि जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारी सबैले आफ्नो गहकिलो भाषण गरे । तर कसैले पनि संस्थाको शुद्ध उच्चारण गर्न सकेनन् । बोल्ने पूर्व कार्यकारिणी राष्ट्रिय उपाध्यक्ष रमेश चन्द्र भुसालले मात्र भाषणमा जेसिज भनेका थिए । अरु सबैले जेसिज शब्दको शुद्ध उच्चारण नगरेर जेसिस जेसिस भनिरहे ।

यति मात्र होइन कपिलवस्तु जेसिज वर्ष २०२१ का अध्यक्ष भीमकान्त भट्टराईको बायोग्राफी अडियो टेपमा बोल्ने बुटवलका वरिष्ठ संचारकर्मी तथा जेसिजका राष्ट्रिय प्रशिक्षक रमेश अर्यालको आवाजमा पनि जेसिस जेसिस नै आइरह्यो ।

के यो सामान्य कमजोरी हो त ?

कुनै पनि संस्थाको सही उच्चारण हुनु आवश्यक नै हुन्छ । भाषणका क्रममा यस्तो गल्ती धेरै नै ठाउँमा हुने गर्दछ । कतिपयले यस्तो गल्तीलाई सामान्य नै रुपमा लिन सक्लान् तर गहिरिएर हेर्ने हो भने यो गम्भीर गल्ती नै हो ।

संस्थासंग आवद्ध नहुनेहरुले त जे बोले त्यसलाई त्यति अनर्थमा नलेऔँ तर संस्थाका राष्ट्रिय अध्यक्ष, कार्यकारणी उपाध्यक्ष, उपाध्यक्ष, बिभिन्न शाखाका प्रमुखहरु नै आफ्नो संस्थाबारे अनविज्ञ हुनु या लापरबाही ढंगले बोल्नु गल्ती भएको जानकारहरु बताउँछन् ।

वरिष्ठ पत्रकार तथा लेखक संजय पन्थीले यो सामान्य गल्ती नभएको बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘जेसिज संस्था कसरी जेसिस हुन सक्छ ? शाब्दिक अर्थमा हेर्दा यो ठुलै मिस्टेक हो । संस्थाका जिम्मेवार ब्यक्तिहरु यसरी नाममा नै लरबराउनु संस्थाको लागि राम्रो होइन । राष्ट्रिय अध्यक्षले समेत सार्वजनिक कार्यक्रममा जेसिज भन्न नजान्नु शोभनीय भएन ।’

उहाँले थप्नुभयो ‘ नियतवस भनिएको होइन पक्कै, तर पनि संस्थाका कार्यकारीहरुले यस्तो गल्ती गर्दा अरुले के सिक्ने ? ’ पन्थीले नेपालमा नेताहरुले जे बोले पनि छुट हुने हुँदा त्यतातर्फ झन् कसरी ध्यान दिन सक्छन् भनेर प्रश्न खडा गर्नुभयो ।

कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष उमानाथ पौडेलले पनि यो कमजोरी नै भएको बताउँदै जेसिज अभियान्ताहरुले आगामी दिनमा यस्तो गल्ती दोहोर्याउन नहुने तर्क राख्नु हुन्छ । सार्वजनिक पद धारण गरेका ब्यक्तिले यस्ता गल्ती सकेसम्म नगर्दा बौद्धिकता झल्कने उहाँले बताउनु भयो ।

यस्तो किन भयो ?

नेपाली भाषा ब्याकरणका अनुसार ‘जेसिज’ र ‘जेसिस’ शब्द श्रुतिसमभिन्नार्थक शब्द हुन् । श्रुतिसमभिन्नार्थक भन्नाले सुन्दा उस्तै सुनिने तर अर्थमा भिन्नता आउने भन्ने हुन्छ । जेसिज संस्थाको नाम भयो भने शब्दकोषमा जेसिस शब्दको अर्थ भेटिएन । नियतवस नभएर श्रुतिसमभिन्नार्थक शब्द भएकाले वक्ताहरुबाट यो गल्ती भएको हुन सक्ने सरोकावाला बताउँछन् । नेपालभर बिभिन्न कार्यक्रममा यो शब्द उच्चारण गर्ने ९५ प्रतिशत बढीले उच्चारणमा यस्तै गल्ती गर्ने गरेको भेटिन्छ । अन्य संस्थाहरुमा पनि यस्तो स्थितिमा धेरै गल्ती गरेको देखिन्छ

प्रकाशित मिति : ७ माघ २०७८ शुक्रबार ००:००  ३ : ०७ बजे