मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु जेसिजको २२ औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टमा जेसिजका राष्ट्रिय अध्यक्षको प्रमुख आतिथ्यमा जेसिज बर्ष २०२१ का अध्यक्ष भीमकान्त भट्टराईले भर्खरै सर्वसम्मत चुनिएका अध्यक्ष गुरुदेव पौडेल वर्ष २०२२ लाई पद हस्तान्तरण गर्नुभएको थियो ।
पदभार ग्रहणसंगै नयाँ टिमले सपथ पनि खाएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष पौडेलले आफ्नो एक्सन प्लान प्रस्तुत गर्नुभएको थियो भने उहाँले बिभिन्न पदमा मनोनयन पनि गर्नुभएको थियो । निवर्तमान हुनुभएका भीमकान्त भट्टराइले आफ्नो कार्यकाललाई सफल बनाउने सबैलाई धन्यबाद दिँदै मायाको चिनोले सम्मानित गर्नु भएको थियो ।
यसैबीच कार्यक्रममा बोल्नेहरुले जेसिजले समाजमा नेतृत्व विकास गर्नेदेखि बिभिन्न सामाजिक र मानवीय कार्य गरेर मुलुकमा विधिको शाषन स्थापित गर्न ठुलो भूमिका खेलेको बताएका छन् ।
प्रमुख अतिथि संस्थाका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीले जेसिजका काम मुलुककै लागि अनुकरणीय रहेको बताउनु भयो । ‘शाषन ब्यक्तिको होइन विधिको हुनुपर्दछ’ भन्ने मुल मर्म बोकेको संस्थाको गतिविधिबाट मुलुकले धेरै सिक्नु पर्ने उहाँको भनाई छ । अब जेसिज अभियान्ताहरु मुलुक निर्माणमा अघि बढ्नु पर्ने समेत उहाँले बताउनु भयो ।
युवाहरुको जोश र जाँगर अहिले जेसिजमा पोखिएको भन्दै राष्ट्रिय राजनीतिमा समेत युवा सहभागिता हुनुपर्नेमा उहाँको जोड छ । कपिलवस्तु जेसिजले हरेक बर्ष राम्रा काम गरेर मुलुकमा उत्कष्ट शाखा बन्न सकेको भन्दै उहाँले प्रसंसा गर्नुभयो ।
विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र पूर्वमन्त्री दीप कुमार उपाध्यायले जेसिजमा देखिएको युवा जोश अब नेपालको राजनीतिमा पनि देखिनु पर्ने बताउनु भयो ।
मुलुकको शाषन विधिमा नचलेर ब्यक्ति केन्द्रित हुँदा धेरै समस्या सिर्जना भएको भन्दै उहाँहरुले सँधैभरी त्यो छुट कसैलाई पनि हुन नसक्ने बताउनु भयो । कपिलवस्तु जेसिजका कामहरुबाट आफूहरु प्रभावित भएको भन्दै उहाँहरुले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । फरक प्रसंगमा नेताद्धयले मुलुकमा संविधानतहः तय भएका निर्वाचनहरु समयमा नै हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाही, राष्ट्रिय उपाध्यक्ष संदिप अग्रहरी, पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेश चन्द्र भुसाल, वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारी, कपिलवस्तु जेसिजको मातृशाखा शारदानगर जेसिजका पूर्वअध्यक्ष प्रमिशा काफ्ले, कपिलवस्तुका पूर्व अध्यक्षहरु रुक बहादुर भुसाल, सुन्दर पाण्डे लगायतले बोल्नु भएको थियो । महासचिव अमृत घिमिरेले संचालन र स्वागत गर्नु भएको कार्यक्रममा बिभिन्न शाखाका प्रमुख र पदाधिकारी, समाजसेवी, संचारकर्मीको सहभागिता थियो ।
प्रतिक्रिया