९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोभिडको चरम मारमा हाटबजार व्यवसायी : पक्षपाती व्यवहार भएको गुनासो



हरि अधिकारी, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोभिड नियन्त्रण सम्बन्धी नयाँ आदेशले हाटबजार व्यवसायी चरम मारमा परेको गुनासो गरेका छन् । कपिलवस्तु हाटबजार व्यवसायी समितिले आफुहरु कोभिडको नाममा पटक पटक चरम मारमा परेको बताउदै पछिल्लो प्रशासनको निर्णयले आफुहरु थप संकटमा परेको बताएका हुन् ।
दिनहु व्यापार गरेर परिवारको पालन पोषण, शिक्षा, स्वास्थ्य उपचारमा खर्च जुटाउदै आएका हाटबजार व्यवसायीको बजार बन्द गर्ने भनेपछि थप संकट उत्पन्न भएको बताएका छन् । जाडोको सिजनमा २।४ लाखका खरिद गरेर ल्याएका कपडा विक्री गर्न नपाएपछि आफुहरुले ठुलो घाटा व्यहोर्नुपर्ने उनीहरुले बताएका छन् ।
विगतका बर्षदेखि नै कोभिडको बहानामा निशानामा परेको हाटबजारलाई रोक लगाउने सरकारी निर्णयले पुन मारमा परेको व्यवसायीले गुनासो गरेका हुन् । दैनिक आम्दानी गरेर जीवन निर्वाह गरिरहेका हाटबजार व्यवसायीले कोरोना नियन्त्रण तथा रोकथामको नाममा बजार माथि प्रतिवन्द लगाइनु आफुमाथीको अन्याय भएको बताएका छन् ।
कपिलवस्तु हाटबजार व्यवसायी समितिकी अध्यक्ष पवित्रा सोमैले सवै क्षेत्र निर्वाध रुपमा खुला हुँदा साना व्यवसायीहरुको हाट बजार मात्र रोक लगाइनु पक्षपाती निर्णय भएको बताउनु भएको छ । अध्यक्ष सोमैले सवै व्यवसायीले कोरोना खोप लगाईसकेका कारण स्वास्थ्य मापदण्ड अपनाएर बजार संचालन गर्न पाउनुपर्ने माग राख्नुभएको छ । होटल, रेष्टुरेन्ट, विवाह, पार्टी, यातायात, खोलानाला, बजार क्षेत्र निर्वाध रुपमा संचालन हुदा साना लगानीका हाटबजार व्यवसायीलाई रोक लगाउनु पक्षपाती र अन्यायपूर्ण व्यवहार भएको सोमैले बताउनुभयो । वैंकको व्याज, विद्यालयको शुल्क, परिवारको पालनपोषण कसरी जुटाउने बजार बन्द भएपछि उहाँले भन्नुभयो ।
समितिले वाणगंगा नगरपालिकासंग आफना समस्याबारे पटक पटक राख्दा समेत वाणगंगा नगरपालिका प्रमुख उपप्रमुखले कुनै सुनुवाई नगरेको बताएका छन् । नगरपालिकामा दर्ता भई लाखौ कर बुझाउदा समेत आफनो समस्या प्रति गम्भिर नभएकाले समितिले चिन्ता व्यक्त गरेको छ । कुनै निकायले आफनो समस्या नसुनेपछि कपिलवस्तु हाटबजार व्यवसायी समितिले प्रदेश सांसद विष्णु पन्थीसंग गुनासो राखेका हुन् । सांसद पन्थीले हाटबजार व्यवसायीको समस्याबारे चासो दिदै आफै स्वरोजगार, कृषि, पशुजन्य व्यवसायबाट आयआर्जन गरिरहेका साना व्यवसायी प्रति सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले कोरोनाको यो पिक आवर भएकाले केही दिन अवस्था हेरेर आवश्यक निर्णय लिनुपर्ने सल्लाह सुझाव दिनुभएको छ । सांसद पन्थीले छिमेकी जिल्लाहरुको स्थानीय प्रशासनको निर्णय, कपिलवस्तुको कोरोनाको अवस्थालाई बुझेर सम्वन्धित निकायमा आवश्यक पहल गर्ने बताउनु भयो । सोही अवसरमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले हाटबजार व्यवसायी समितिको समस्या र मागप्रति आफु गम्भिर भएकाले सम्वन्धित सरोकारवालाले विचार गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ५ माघ २०७८ बुधबार ००:००  ११ : ०४ बजे