काठमाण्डौ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिका एक सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी भन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गर्नुभएको छ ।
उहाँले चालु आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजिगततर्फ १७ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिनुभएको छ । ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशमलब ९१ प्रतिशत रहेको छ ।
कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । उहाँले नीतिगत सुधार गर्ने क्रममा विद्यमान राष्ट्रिय शहरी नीतिलाई परिमार्जन गरी संघीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उदेश्यहरुलाई अन्तिम रुप दिइ प्रदेश र पालिका लगायतका सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको बताउनुभयो ।
त्यस्तै युटिलिटी करिडोर सम्बन्धी व्यवस्था र शहरी पूर्वाधारमा ऋण तथा अनुदान लगानीका विषयहरुमा दिशाबोध हुने गरी शहरी विकास विधेयकको मस्यौदालाई पनि अन्तिम रुप दिइएको उहाँले जानकारी दिनुभयो ।
उहाँले आफू मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै वाग्मती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको, शहरी पूर्वाधार विकास निगमर नगर वित्त निगम स्थापनाका लागि विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको र उपत्यकाका सबै नगरपालिकामा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्डमा एकरुपता कायम गर्न विद्यमान मापदण्डको परिमार्जित मस्यौदा तयार पारिएको उल्लेख गर्नुभयो । मन्त्री झाँक्रीले मन्त्रालय र अन्तर्गतका निकायहरु बाट हुने खरिद कार्य उपभोक्ता समिति मार्फत गराउन रोक लगाइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया