काठमाण्डौ ।
नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले बेहोर्दै आएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे सुनवल ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या समाधान भइ उद्योगलाई मागअनुसार विद्युत् दिन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
‘प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनु पर्ने बाध्यात्मक अवस्था थियो, अब यस्तो अवस्थाको अन्त्य भइ उद्योगलाई मागअनुसार पर्याप्त विद्युत् सकिन्छ,’कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
‘सुनवल क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत् आपूर्तिका लागि १३२र३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ, सबस्टेसनको निर्माण आउँदो चैतरवैशाखभित्रमा सकिने छ, त्यसपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत् उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुने छ।’
केही महिनाअघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिनुभएको थियो।
१९ किलोमिटर सिङ्गल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताउनुभयो । सुनवल क्षेत्रमा लक्ष्मी स्टिल्स,पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योगहरु सञ्चालित छन् ।
ती उद्योगहरुले आफ्नो क्षमता वृद्धिका लागि थप विद्युत् माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योगहरु खुल्ने क्रममा रहेका छन् । प्राधिकरणले गण्डकमा रहेको १३२-३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको हो । ‘अब गण्डक परासीमा रहेको पुरानो र अहिले निर्माण गरिएको दुईवटासहित ३३ केभीका तीनवटा सर्किटबाट विद्युत् आपूर्ति दिन सकिने छ, विद्युत् अभावमा परासी क्षेत्रका उद्योग अब आलोपालोमा चल्नु पर्दैन’, निर्देशक ओझाले भन्नुभयो ।
बर्दघाटबाट १३२ केभी प्रसारण लाइनका साथै आवश्यक परेमा भारतबाट समेत गरी गण्डक सबस्टेसनमा विद्युत् आपूर्ति हुन्छ । प्राधिकरणले देशमा उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।
प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।
दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने छ ।
प्रतिक्रिया