काठमाण्डौ ।
राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्ताबेज सूचीकरण सुरु गरेको छ ।
अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो । दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २ सय ७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रज्जु हाडाले जानकारी दिनुभयो । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो ।
उपचार, बिन्ती पत्र, भ्रमण, उत्सव, प्रतिवेदन र दूतावास सम्बन्धी दुई हजार २ सय ६८ दस्ताबेज सूचीकरण गरिएको छ । राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी, भर्पाइ, रसिदलगायत दस्ताबेज एक हजार ३ सय ३ फेला परेको छ ।
कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका एक हजार ८ सय ८७ दस्ताबेज सूचीकृत गरिएको छ । दुई कोठाका दस्तावेज अभिलेखीकरण गर्ने क्रममा नेपाली भाषाका ६ सय ५६ र अङ्ग्रेजी भाषाका ८ सय ६५ पुस्तक फेला परेका छन् ।
प्रतिक्रिया