९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु



चितवन ।

चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं। ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो ।

पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको गुनासो गरेका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापरबाही गरेकाले मृत्यु भएको बताए ।

पुस २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए । ‘उहाँहरूले दिउँसो १२ बजेसम्म हुन्छ भनेर राख्नुभयो, हामीलाई भित्र जान पनि दिनु भएन, बहिनी असाध्य पीडा भएर भुईँमा लडिछन्, नजिकको अर्को बिरामीकाअनुसार त्यहाँ कोही नर्स, डाक्टर थिएनन् रे, मुखबाट रगत आएर बेहोस भएर ढलिछन्’ मृतकका दाजु ताराले भने, ‘हामी भित्र जाँदा त बहिनी अचेत थिइन्, नर्स आएर सीपीआर गरिरहेका थिए, डाक्टर थिएनन् । हतार हतार आईसीयू लगेर भेन्टिलेटरमा राखियो ।’

भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृत घोषणा गरेका थिए । उनको पेटमा साढे तीन किलोको छोरा रहेको मृतकका दाजु ताराले बताए ।

पुस २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए । ‘२२ गते यहाँ राप्ती खुरखुरेमा भिडियो एक्सरे गरेर हेर्दा सबै कुरा नर्मल छ, एकरदुई दिनमा अस्पताल जानु भए हुन्छ भनेर डाक्टरले भन्नुभएको थियो,’ ताराले भने ।

राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् ।

राधिकाको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८ बिहिबार ००:००  १२ : १५ बजे