८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दिदी–बहिनीलाई भारतमा लगेर बेचेको आरोपमा युवती पक्राउ



काठमाण्डौ ।

दुईजना दिदी बहिनीलाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा बस्ने बस्ने फुलमाया तामाङ उर्फ अनिशा छिन् ।
पुस ९ मा उनलाई बुढानिलकण्ठ नगरपालिकास्थित कपनबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

२०७४ साउनमा काठमाडौंबाट दुई दिदी बहिनीलाई उनले नयाँ बसपार्कबाट गाडी चढाएर भारतमा लगेर बेचेको आरोप छ । ‘पोखराको होटलमा जागिर मिलाइदिन्छु’ भनेर ११ र १३ वर्षीया दिदी बहिनीलाई काठमाडौंको आकाशेधारास्थित होटलमा चाउमिनमा बेहोस हुने औषधी खुवाएर उनले भारत लगेकी थिइन् ।

भारतको बम्बई, इलाहबाद, कलकत्ता र कुचबिहारका कोठीमा काम गरेपछि बहिनी भागेर दार्जिलिङको बाटो हुँदै नेपाल आउन लाग्दा भारतीय प्रहरीले फेला पारेका थिए । पीडितलाई २०७८ असोजमा दार्जिलिङमा भारतीय प्रहरीले भेटेर राजदूतावासमा खबर गरे । नयाँ दिल्लीस्थित नेपाली दूतावास र नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा उनी नेपाल आइपुगेकी हुन् ।

बहिनी नेपाल आइपुगे पनि दिदी भारतमै छिन् । आरोपीलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार अनुसन्धान भइरहेको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८ बुधबार ००:००  २ : ०४ बजे