८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लाखौँ खर्च हुने ‘प्रथम बाणगंगा सडक खाना महोत्सव’ खासमा के हो ?



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलोपटक सडक खाना महोत्सव हुँदै छ । आगामी पौष २९ र ३० गते वडा नम्बर ४ को आयोजनामा चार नम्बर जितपुर तौलिहवा रोडमा पहिलोपटक सडक खाना महोत्सव हुन लागेको हो । यो खबर सुनिसके पछि कोरोनाको जोखिम कायमै रहेका बेला यस क्षेत्रका होटल ब्यवसायी उत्साहित छन् भने नगरबासीमा पनि यस खबरले एक प्रकारको जिज्ञासा उत्पन्न गराएको छ ।

लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट ६ लाख, बाणगंगा नगरपालिकाबाट ३ र वडाबाट १ लाख सहयोग हुने यस खाना महोत्सव सम्पन्न गर्न करिब १५ लाख लाग्ने आयोजकले यसअघि नै जानकारी गराइसकेका छन् । ‘सडकमै आऔँ, सडकमैै खाऔँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ सम्पन्न हुने महोत्सवमा राष्ट्रिय कलाकार र ब्याण्डले मनोरञ्जन दिने छन् । तामझामपूर्ण तवरले हुने यस खाना महोत्सवमा वास्तवमा केके हुँदै छ त ?

महोत्सवका निर्देशक सुशील सिंह ठकुरी भन्नुहुन्छ ‘यो महोत्सव पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बाणगंगामा पहिलोपटक गर्न लागिएको हो । यसले यहाँको कला संस्कतिलाई त चिनाउने छ नै नगरबासीले पनि केही फरक अनुभुति पक्कै गर्नुहुने छ ।’

दुई दिनसम्म हुने महोत्सवमा स्थानीय जातजातिका विशेष खाना, कला र संस्कृति प्रदर्शनको लागि राखिने ठकुरीले बताउनु भयो । महोत्सव संयोजक दिनेश क्षेत्रीले पनि यो नौलो कार्य गर्न पाउँदा खुसी लागेको बताउनु भयो । यसअघि आफ्नो नेतृत्वमा महोत्सवहरु सम्पन्न भइसकेको बताउँदै यस खाना महोत्सवलाई पनि कसरी नमुना गराउन सकिन्छ भनेर आफूहरु रातदिन खटिएको बताउनु भयो । खानाका १० देखि १५ स्टल महोत्सवमा हुने उहाँको दाबी छ ।

वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले यस खाना महोत्सवले जिल्लामा छुट्टै परिचय दिने बताउनु भयो । उहाँले भन्नुभयो–‘कपिलवस्तु उद्योग बाणिज्य संघले १२ महोत्सव लगाउँदै छ । त्यसको पूर्व सन्ध्यामा हामीले पनि खाना महोत्सव गर्दै छौँ । यसले यहाँको पर्यटन प्रवद्र्धन हुनेमा हामी आशाबादी छौँ ।’

उहाँले थप्नु भयो–‘यहाँका बिभिन्न जात । जनजाति (थारु, नेवार, मगर, गुरुङ, ब्राहम्ण क्षेत्री) हरुले आफ्नो संस्कृतिसहित खानाका परिकार लिएर आउनुहुनेछ । उहाँहरुलाई स्टलदेखि टेवलकुर्सीसम्म हामीले ब्यवस्था गरिदिएका छौँ । महोत्सवमा आएका सबै आन्तरिक र बाह्य पर्यटकलाई उहाँहरुले जिब्रो चाट्न गरी मिठा परिकार बनाएर पस्कनु हुनेछ । प्रदर्शन गर्नु हुने छ । सबैलाई सो महोत्सवमा सहभागी भएर खानाक बिभिन्न नयाँ नयाँ भेराइटीहरुको स्वाद चाख्न पनि अनुरोध गर्दछु ।’ उहाँले २ दिनसम्म चार नम्बर रंगिने बताउनु भयो ।

महोत्सवको लागि चार नम्बर तौलिहवा रोडको कृषि विकास बैङ्कदेखि गेटसम्म टेन्टहरु टाँगिएको छ । सडक खाना महोत्सव भएकाले सो चारनम्बर तौलिहवा सडकखण्ड रोजिएको वडाले जनाएको छ । महोत्सव अवधिभर बाजागाजाको साथ भजनको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८ बुधबार ००:००  १ : ५४ बजे