काठमाडौं ।
नेपाली कांग्रेसले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको छ।
सोमबार बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो। जसअनुसार प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्ण प्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त उम्मेदवार तय भएका छन्।
यस्तै, लुम्बिनी प्रदेशबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ।
सोमबार नै बसेको सत्ता गठबन्धनको बैठकले यसअघि एमालेले जितेका ८ सिटमा भागबण्डा मिलाएको थियो। त्यसबाहेक गठबन्धन आवद्ध दलले यसअघि जितेको सिटमा सोही दललाई नै दिने सहमति भएको थियो।
कांग्रेस पदाधिकारी बैठकले तय गरेका नाम सोमबार नै बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन समेत गरिसकेको छ।
कमला पन्त र नारायण मिश्र संस्थापन इतर समूहका उम्मेदवार हुन्। पन्त शेखर कोइराला प्यानलबाट महिला तर्फबाट सहमहामन्त्री र मिश्र सुदूरपश्चिम सभापतिमा पराजित भएका थिए।
कृष्ण पौडेल कांग्रेस केन्द्रीय कार्यालय मुख्यसचिव हुन्। दुर्गा गुरुङलाई सहिद परिवारबाट उम्मेदवार बनाइएको हो।
गोपाल बस्नेत २०७४ मै देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय सभामा सिफारिस भएका थिए। तर, राष्ट्रपतिबाट मनोनित गरिएको थिएन। युवराज शर्मा कांग्रेस बाँकेका पूर्व सभापति हुन्।
प्रतिक्रिया