काठमाडौं ।
सत्ता गठबन्धनमा रहेको सानो वामपन्थी दल राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा १ सीट पाउने भएको छ ।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनले भागबण्डा मिलाउँदा जनमोर्चाले १ सीट पाउने सहमति भएको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमवार बसेको गठबन्धनको बैठकले दलहरूबीच भागबण्डा टुंग्याएको हो ।
यसअघिका सीट यथावत रहने गरी बाँकी ८ सीटमध्ये कांग्रेसले ३, नेकपा माओवादी केन्द्र र नेकपा एसले १र१ तथा जसपाले २ र जनमोर्चाले १ सीट पाउने सहमति भएको छ ।
रिक्त हुन लागेका सीटमा एमालेका ८, नेकपा माओवादी र एसका ४ तथा कांग्रेसका ३ सीट छन् । जनमोर्चाले लुम्बिनी प्रदेशबाट दलित सदस्यमा कोटा पाएको छ ।
आफ्नो पार्टीले तुलबहादुर विकलाई उम्मेदवार बनाउने उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
प्रतिनिधि सभामा १ सीट रहेको जनमोर्चाको प्रतिनिधित्व राष्ट्रिय सभामा थिएन । लुम्बिनी प्रदेशमा गठबन्धनको मतभार धेरै रहेकाले गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना प्रबल छ ।
प्रतिक्रिया