काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारवाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ ।
आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो ।
स्रोतका अनुसार असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार विहान नौं बजे सम्म बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । कप्तान परिवर्तन नहुने भएको छ । ज्ञानेन्द्र सहितको समूहले भने कप्तान परिवर्तन गर्नुपर्ने माग गर्दै आएको थियो । क्यानले सन्दीप लामिछानेलाई कप्तानीमा नियुक्त गरेको हुँदा परिवर्तन नगर्ने जनाएको हो । चार क्रिकेटरमाथि २०२२ को सुरुवाती ६ महिना ग्रेडमा लगाएको प्रतिबन्ध भने क्यानले फुकुवा गरेको छ ।
क्यानले मंसिर २९ मा नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारण देखाउँदै २०२२ को सुरुवाती ६ महिना ग्रेड मै नराख्ने निर्णय गरेको थियो । यी दुवै कारवाही फिर्ता हुनुपर्ने भन्दै ज्ञानेन्द्र समूहले शनिबार बोलाएको बन्द प्रशिक्षणमा गएका थिएनन् ।
क्यानले शनिबार बन्द प्रशिक्षणमा बोलाएका सबै खेलाडीहरुलाई होटलमा उपलब्ध नभएपछि प्रशिक्षण नै प्रभावित बनेको थियो । तर आइतबार बसेको बैठकले सहमती भएको बुझिएको छ । कारबाहीमा परेका चार क्रिकेटरसँगै करण केसी, अभिनाश बोहरा, सुशान भारी, कुशल भुर्तेल, विनोद भण्डारी, रोहित कुमार पौडेल, नन्दन यादव र विक्रम सोब लगायतका १२ खेलाडी अनुपस्थित नहुने जनाएका थिए । अन्य खेलाडी होटल पुगेका छन् ।
ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि विवाद सुरु भएको थियो । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोधेको थियो ।
खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन । कप्तान ज्ञानेन्द्र मल्ल सहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधे ।
त्यसपछि विवाद झन बढ्दै गएको छ । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । त्यसपछि मंसिर २९ मा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो ।
प्रतिक्रिया