भैरहवा ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध दर्शन सत्य, तथ्य र वैज्ञानिक रुपमा आधारित रहेकाले नेपालको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।
शनिबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा शेरचनले बौद्ध दर्शन पाठ्यक्रममा समावेश गर्न निकै ढिला भएको गुनासो गरे । ‘आफ्नै मुलुकमा उत्पत्ति भएको बौद्ध दर्शन पाठ्यक्रममा समावेश गर्न निकै ढिलाइ भइसकेको छ’ शेरचनले भने, ‘बौद्ध दर्शनलाई देश विदेशमा फैलाएर प्रचार प्रसार गर्नुपर्छ ।’
बौद्ध दर्शनलाई पाठ्यक्रममा समावेश गर्न ढिलाइ हुनुमा विभेद् रहेकोसमेत उनले दाबी गरे । तर, विभेद् कोबाट र कसरी भन्नेबारे विस्तृत कुरा भने उनले प्रष्ट पारेनन् ।
बौद्ध दर्शन अध्ययन–अध्यापन गराउन आफूले धेरैपटक संसद्मा कुरा उठाएको र गण्डकी प्रदेश प्रमुख हुँदा पनि यस विषयमा पहल गरेको उनले बताए ।
सरकारले आफैंले दायित्व लिनुपर्ने, शिक्षा नीतिमा समावेश गर्नुपर्ने कुरा समावेश नगरेपछि पाठ्यक्रममा समावेश गर्ने दायित्व अब भिक्षु्हरूमा आएको उनले बताए । ‘तपाइँहरूलाई आग्रह गर्छु, आफूभित्र मात्रै बौद्ध शिक्षा गुम्स्याएर राख्नुभएन’ भिक्षुहरूलाई लक्षित गर्दै उनले भने, ‘ बौद्ध दर्शनबारे तल्लो तहबाटै पाठ्क्रममा समावेश गरेर अघि बढेमा र प्रचारप्रसार गरेमा मात्रै बौद्ध दर्शनले सार्थकता पाउनेछ ।’
शेरचनले लुम्बिनीको प्रचारप्रसार र विकासका लागि लुम्बिनीका सम्पूर्ण कलावस्तु समेटेर वृत्तचित्र मार्फत् लुम्बिनी आउने सबैलाई देखाउनु पर्ने बताएका थिए । बौद्ध दर्शन फैलाउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
प्रतिक्रिया