७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

दाङमा हिउँदे वर्षाले करोडौँ मूल्य बराबरको काँचो इँटा नष्ट



दाङ

इँटाभट्टामा पोल्न तयार पारिएको करोडौँ मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पुर्याएको छ । करिब एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा गएको मङ्गलवार र बुधवार परेको वर्षाले नष्ट गरेपछि इँटा भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् ।

दाङमा सञ्चालित इँटाभट्टामा पानी परेपछि काँचो इँटा क्षति गरेको हो । ‘दुई दिन परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भन्नुभयो, ‘भट्टीमा पोल्नका लागि तयार पारिएको करिब सवा २ करोड काँचो इँटा तयारी गरिएकोमा करोड ८० लाख इँटामा क्षति भएको छ ।

एउटा काँचो इँटा तयार गर्न चार रुपैयाँ खर्च लाग्ने गरेको उहाँको भनाइ छ । बैंकबाट ऋण लिएर तयार गरिएको करोडौँको इँटा नष्ट हुँदा व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको जिल्ला अध्यक्ष वलीले बताउनुभयो।

उहाँका अनुसार जिल्लामा पोल्नका लागि तयार पारिएको १ करोड ८० लाख काँचो इँटा काम नलाग्ने गरी क्षति भएपछि ७ करोड २० लाख रुपैयाँ बराबरको प्रत्यक्ष घाटा लागेको छ । यति ठूलो रकम बराबरको इँटा उठाउनै नमिल्ने गरी क्षति भएपछि यो पटक पनि जिल्लामा रहेका इँटा व्यवसायीहरु मारमा परेका छन् । हरेक वर्ष जसो हिउँदे वर्षा तथा चैते वर्षाले पोल्नका लागि तयार पारिएको काँचो इँटामा क्षति गर्ने गरेको छ ।

जिल्लामा ४२ वटा इँटा उद्योग छन् । जसमा तुलसीपुर क्षेत्रमा १५ वटा, घोराही क्षेत्रमा १५ वटा र देउखुरी क्षेत्रमा १२ वटा इँटा उद्योग रहेको दाङ देउखुरीका इँटा व्यवसायी समिति अध्यक्ष वलीले बताउनुभयो । अहिले इँटा उत्पादनको सिजन चलेकाले हरेक इँटा उद्योगमा दैनिक लाखौँ इँटा उत्पादन हुने गरेको छ । एक इँटा उद्योगमा करिब २ सयभन्दा बढी कामदारले इँटा उत्पादन गर्दै आएका छन् ।

जिल्लाभरको इँटा उद्योगमा करिब ९ हजार जनशक्ति इँटा उत्पादनमा खट्ने गरेको छ । यति ठूलो जनशक्तिले विकास निर्माणसँग जोडिएको क्षेत्रमा काम गर्ने भए पनि सरकारले काँचो इँटाको बीमा नगरि दिँदा आफूहरु वर्षातको विपत्तिमा पर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

धमाधम इँटा उत्पादनमा लागेका कामदारहरुले ठूलो सङ्ख्यामा इँटा बनाउने हुँदा सुकाउनका लागि काँचो इँटालाई फिजाएर राखेको बेलमा वर्षाले थप क्षति गर्ने गरेको छ ।

सरकारलाई कर तिरेर, आन्तरिक रोजगारी सिर्जना गरेर, विकास निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थका रुपमा रहेको इँटा उत्पादनमा खटिएका इँटा व्यवसायीहरु जहिले पनि मारमा पर्ने गरेको अध्यक्ष वलीले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले इँटा व्यवसायीहरुलाई उनीहरुको लगानीको सुरक्षामा केही भए पनि राहत दिने विषयमा सोच्नुपर्छ ।’

वर्षभरि बेच्नका लागि तयार भइरहेको इँटा पानीले नष्ट गरेपछि व्यवसायीहरु आर्थिक समस्या परेका छन् । जसोतसो व्यवहार धान्दै आएको जिल्लाका इँटा व्यवसायीहरुको भनाइ छ । यसअघि पनि गएको वर्ष परेको बेमौसमी पानीका कारण ठूलो मात्रामा इँटा क्षति भएको थियो । यो पटक भएको क्षतिले इँटाको मूल्यमा धक्का लाग्ने देखिएको छ । इँटाको क्षतिपूर्ति राज्यले नदिने भएपछि इँटा व्यवसायीहरुले आर्थिक भारलाई समायोजन गर्न केही प्रतिशत भए पनि तयारी इँटाको मूल्य बढाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  १ : ०७ बजे