८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रचण्ड र ओली प्रतिक्रियावादी दलाल हुन्ः मोहन वैद्य



काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पुष्पकमल दाहाल, केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् ।

माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । उनले कम्युनिष्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरु भए पनि सुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए ।

महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए । उनले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे। महासचिव वैद्यले भने, ‘प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन् । प्रचण्ड के भन्छन् भन्दा यो संविधानको रक्षा गर्ने हामी हौं, प्रतिगमनका विरुद्ध जाने हामी हौं भनेर कुर्लेका छन् । यो संविधानको रक्षा गरे त, त्यही हो प्रतिगमन, त्यही हो प्रतिक्रान्तिकारी, ओलीहरु, प्रचण्डहरु दक्षिणपन्थीमात्रै होइनन्, दक्षिणपन्थीभन्दा कम से कम कित्ताको कुरा आउँछ, यिनीहरु त प्रतिक्रियावादका दलाल हुन् ।’

महासचिव वैद्यले मार्क्सवाद, लेनिनवाद, माओवादमात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ पुस २०७८ आइतबार ००:००  ६ : १८ बजे