८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पूर्वसांसद कर्माचार्यद्वारा एमाले परित्यागको घोषणा



काठमाडौँ ।
पूर्वसांसद तथा एमाले नेता सुवास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । ८ वर्ष सिन्धुपाल्चोक जिल्लाको नेतृत्व गरेका कर्माचार्यले एमालेसँगको ४ दशक लामो सहकार्य आइतबाट समाप्त भएको बताए । ‘एमालेमा मूल्यांकन पद्धति पनि ठीक भएन र वैचारिक रुपमा पनि समस्या परेको छु कर्माचार्यले भने ।’

कर्माचार्यले २०५६ देखि ०६४ सालसम्म एमालेको जिल्ला सचिवको रुपमा सिन्धुपाल्चोकको नेतृत्व गरेका थिए । उनी चारपटक एमालेको तर्फबाट साविक सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका थिए ।

२०५६ सालको आमनिर्वाचनमा कर्माचार्य सांसद निर्वाचित भएका थिए । लामो समयसम्म माधवकुमार नेपाल निकट रहेका उनी पार्टी विभाजनपछि पनि एमालेमै थिए । तर १०औं महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षी थिए ।

कर्माचार्यले एमाले परित्याग गरे पनि कुनै राजनीतिक दलमा जानेबारे आफूले निर्णय गरिनसकेको बताएका छन् । ‘म सक्रिय वाम राजनीतिमै रहन्छु । सबैका लागि खुला छु । यद्यपि नेकपा एकीकृत समाजवादीतर्फ मेरो पुरानै सम्बन्ध हो,’ कर्माचार्यले भने ।

अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका कर्माचार्यलाई कतियप नेताहरूले मनोनित गरेर केन्द्रीय सदस्य बनाउने आश्वासन समेत दिएका थिए । तर मंसिरको अन्तिम साता राजधानीमा भएको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीले मनोनयन गरेनन् ।

प्रकाशित मिति : ११ पुस २०७८ आइतबार ००:००  ३ : २३ बजे