मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तुको जिल्ला सम्मेलन पुस २३ गते हुने भएको छ । जिल्ला पार्टीको तेश्रो पूर्ण बैठकवाट ९ औ सम्मेलन पुस २३ मा सिद्धार्थ क्याम्पसको सभाहलमा आयोजना गर्ने निर्णय भएको हो ।
सम्मेलन गर्ने निर्णय भए लगत्तै बैठकमा बोल्दै जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आफ्नो कार्यकाल राष्ट्रिय परिस्थितिका कारण लम्बिएर ९ बर्ष पुगेको भन्दै अव भने नदोहोरीने घोषणा गर्नुभयो ।
अध्यक्ष पोख्रेलले नदोहोरीने घोषणा मात्र गर्नु भएन नयाँ नेतृत्वका लागि फिल्ड खाली भयो तपाईहरु मध्ये उपयुक्त पात्रले दाबी र तयारी गर्नुहोस भन्नु भयो ।
अहिलेसम्म अध्यक्षका लागि पूर्व उपाध्यक्ष रहेर धेरै वर्ष काम गर्दै अहिले प्रदेश कमिटी सदस्यमा रहनु भएका डम्मर शर्मा र वर्तमान उपाध्यक्ष बाबुराम खनालले आ–आफ्ना इच्छा प्रकट गर्न थाल्नु भएको छ । पछिल्ला दिनमा प्रदेश सदस्य खुम प्रसाद आचार्यले समेत अध्यक्षमा आफ्नो इच्छा प्रकट गरेको एमाले बृत्तमा चर्चामा रहेको छ ।
यसैबीच नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवम लुम्विनी प्रदेश सह इन्चार्ज बिमला घिमिरेले कपिलवस्तु जिल्लालाई एमालेमय बनाउने काममा निरन्तर सफलता हासिल भएको वताउनु भएको छ । कपिलवस्तुको बिजयनगरमा सम्पन्न नेकपा एमाले कपिलवस्तुको तेस्रो पूर्ण बैठकले सम्बोधन गर्दै नेता घिमिरेले पुस २३ मा हुने नवौं जिल्ला सम्मेलनबाट सर्बसहमत रुपमा नेतृत्व छनौट गरेर उदाहरणीय सन्देश दिन कार्यकर्तालाई आग्रह गर्नुभयो । अनुशासित पार्टी र देशको ठूलो पार्टी निर्माण गर्ने बताउदै अवको ५ बर्ष केपी ओलीको नेतृत्वको सरकारले काम गर्ने जनमत आउने चुनाववाट पाउने दृढता प्रकट गर्नु भयो।
नेकपा (एमाले)का केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले ताजा जनादेशमा जानु लोकतन्त्र बिरोधी नभएको बताउनुभयो । न्यौपानेले ताजा जनआदेशमा जाने कुरा माओवादी र नेकपा (एकीकृत समाजवादी) बाहेक सबैलाई मन परेको स्पष्ट पार्नु भयो । उहाँले माओवादीको केन्द्रले मसालका जिल्लास्तरमा विद्रोह गरेर २÷४ कार्यकर्तालाई पाटीमा भित्राएर पार्टी एकताको हल्ला गर्नु पराजित मानसिकता, हतार मनस्थिति र निरासाजनक आत्मवलको कारण भएको दाबी गर्नु भयो ।
बैठकलाई संवोधन गर्दै एमालेका केन्दिय सदस्य एवम कपिलवस्तु जिल्ला इन्चार्ज बलाराम अधिकारीले स्थानीय तहको चुनावमा राजमार्ग क्षेत्रका सबै पालिकामा एमालेको एकछत्र नेतृत्व गर्ने वताउनु भयो । उहाँले एमालेले कपिलवस्तुका ३ वटै क्षेत्र जित्ने ठोकुवा गर्नु भयो ।
यसैबीच जिल्ला कमिटीको विजयनगरमा सम्पन्न पूर्ण बैठकले एमाले कपिलवस्तुको जिल्ला अधिबेशनमा ६ सय प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तय गरेको छ । एमाले जिल्ला अध्यक्ष झबिलाल पोख्रेलका अनुसार ४० जना संगठित पार्टी सद्स्य बराबर १ जनाका हिसाबले प्रतिनिधि छानिने गरि निर्णय गरेको छ । दलिततर्फ २५ बराबर १ प्रतिनिधि हुनेछन । ९६ वडालाई केन्द्र मानी प्रतिनिधी छानिने छन् । हरेक जन संगठनबाट ३ ÷३ जना प्रतिनिधी छानिने छन । जसमा १ जना महिला अनिवार्य छानिनु पर्ने छ ।
अधिबेशनलाई भब्य रुपमा सम्पन्न गर्न अध्यक्ष झविलाल पोख्रेलको संयोजकत्वमा राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिती, वावुराम खनालको संयोजकत्वमा अतिथी सत्कार समिती, चक्रपाणी अर्यालको संयोजकतवमा खाद्य तथा आवास समिती , धर्मराज भुसालको संयोजकत्वमा प्रतिनिधी जाँचबुझ समिति, वावुराम आचार्यको संयोजकत्वमा अर्थ ब्यवस्थापन समिति गठन गरेको छ ।
यसैगरी लक्ष्मण बेल्पासेको संयोजकत्वमा प्रचार प्रसार समिति, गोपालमणी ज्ञवालीको संयोजकत्वमा स्वयम सेवक परिचालन समिती,विश्व कार्कीको संयोजकत्वमा मञ्च सजावट समिती गठन गरेको छ ।
जिल्ला सचिव वावुराम आचार्यको सहजीकरणमा भएको बैठकमा केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तव, उपाध्यक्ष वावुराम खनाल, क्षेत्रिय इन्चार्ज सिवी गहतराज लगायतले वोल्नु भएको थियो ।
बैठकमा केन्द्रिय सल्लाहकार इन्द्रमणी पौडेल, साधुराम खनाल, केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, प्रदेश नेता डम्मर शर्मा, खुम आचार्य, प्रभा पौडेल, जंजिर थारु लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले चुस्त दुरुस्त ब्यवस्थापन गरेर संचालनको राम्रो प्रबन्ध मिलाएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा लगायत पालिका कमिटीलाई हार्दिक कृतज्ञता प्रकट गरेको छ ।
प्रतिक्रिया