९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

इलाममा उत्पादन भएका किबीको बिरुवा भुटान निर्यात



इलाम ।
इलाममा उत्पादन भएका किबीको बिरुवा भुटान निर्यात हुन थालेको छ । पूर्वी नाका काँकडभिट्टाबाट किबीको बिरुवा भुटान निर्यात हुन थालेको हो ।

भुटानले किबी खेतीमा किसानलाई प्रोत्साहन गरेपछि बिरुवाको माग भएको प्लान्ट क्वरेण्टीन कार्यालय झापाका प्रमुख देविन्द्र साहुले बताउनुभयो । चालु आर्थिक वर्षमा पहिलो पटक एक लाख १५ हजार रुपैयाँ बराबरको एक हजार दुई सय वटा किबीको बिरुवा भुटान निकासी भएको उहाँले जानकारी दिनुभयो ।

किबी फल नेपालमा भारतबाट आयात भइरहेका बेला इलामका किसानले उत्पादन गरेको बिरुवा भने निर्यात हुन थालेको हो । यसअघि आर्थिक वर्ष २०७४/७५ मा एक सय र ०७५/७६ मा दुई सय वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकोमा अहिले २० हजार रोपनीमा विस्तार भएको छ । समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबी खेती हुने गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७८ बिहिबार ००:००  ७ : ३४ बजे