९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

चार महिनामा एक सय ५० मेगावाटको विद्युत् लोड स्वीकृत



काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७८-७९को पहिलो चार महिनामा १२ उद्योगहरुलाई विद्युत् आपूर्तिका लागि एक सय ५० दशमलव ५ मेगावाटको लोड स्वीकृत गरेको छ ।

सात वटा उद्योगहरुलाई करिब एक सय ११ मेगावाट विद्युत् उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिएको छ । साथै, ५ वटा उद्योगहरुले माग गरेको करिब ९८ दशमलव ८ मेगावाटको जीआईएसको प्रक्रियामा रहेको छ । लोड स्वीकृत,जिआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरुमा थप करिब तीन सय ६० मेगावाट विद्युत् खपत हुने देखिएको छ । थप विद्युतको माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरु छन् ।

जिआइएसमार्फत लोड स्वीकृत गर्नुभन्दा पहिल उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले माग बमोजिम विद्युत उपलब्ध गराउन सकिने÷नसकिने अवस्थाको निक्र्यौल गरिन्छ । जिआइएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता भई लोड दिइने प्राधिकरणले जनाएको छ ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत सेवा उपलब्ध गराउन सयमसीमा सहितको प्रक्रिया निर्धारण गरिएको छ ।

ठूलो परिमाणमा विद्युत माग गर्ने ग्राहकहरुलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि नियम अनुसार गर्नु पर्ने जिआईएसलाई व्यवस्थित र शीघ्र गर्न समयसीमा सहितको प्रक्रिया लागू गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताउनुभयो । अहिलेको माग देशमा उत्पादित विद्युत यहींभित्र खपत गर्न उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ७ पुस २०७८ बुधबार ००:००  १ : ४३ बजे