९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेकपा (एस) बुद्धभूमिको अध्यक्षमा खनाल, सचिवमा भुसाल



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) बुद्धभूमि नगर कमिटीको अध्यक्षमा भुवनप्रसाद खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । मंगलबार गोरुसिंगेमा भएको प्रथम नगर भेलाबाट खनाल अध्यक्षतामा सर्वसम्मत चयन हुनुभएको हो ।

यस्तै नगर कमिटी उपाध्यक्षमा लोक बहादुर खड्का, मोहन पौडेल, सचिवमा दीपक भुसाल, उप-सचिवमा राधा श्रेष्ठ र जीवनारायण शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा (एकीकृत समाजवादी) को प्रचार विभागले जनाएको छ ।

भेलाले ३१ सदस्यिय नगर कमिटी गठन गरेको छ । तत्कालिन एमाले दक्षिणीपन्थी, अवसरवादमा भासिएको भन्दै माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएको थियो । सोही अनुसार कपिलवस्तुमा पनि पार्टी निर्माणले तिव्रता पाइरहेको छ । १० स्थानीय तह रहेको जिल्लामा बुद्धभूमिसंगै ७ पालिकामा पार्टी कमिटी गठन भएको छ ।

नगर भेलालाई सम्बोधन गर्दै नेकपा (एस)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्रीले जिल्लामा पार्टी गठन उत्साहजनक रुपमा भैरहेको बताउनुभयो । जनतासंग नजिक भएर काम गर्नेमात्र समाजमा स्थापित नेता हुन सक्ने भन्दै नेकपा (एस) का नेता तथा कार्यकर्ता अरु पार्टीका भन्दा फरक हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ (समाजवादी)की केन्द्रीय उपाध्यक्ष राजेन्द्रलक्ष्मी गैरेले कम्युनिष्ट पार्टीको पुर्नगठन समयको माग भएको बताउनुभयो । तत्कालिन एमाले आफ्नो नीति र विचारबाट त्यूत भएको भन्दै कम्युनिष्ट आन्दोलन र पार्टी जोगाउन विद्रोह गरि नेकपा (एस) गठन गर्नुपरेको बताउनुभयो । यसको औचित्य समयले पुष्टि गर्ने भन्दै अब देशमा समाजवादी आन्दोलनको औचित्य नभएको बताउनुभयो । नगर भेलामा पार्टी केन्द्रीय सदस्य तथा कपिलवस्तु सह इन्चार्ज मीना परियार, पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य अहमद अब्दुल रउफ, जिल्ला अध्यक्ष लंका बहादुर हमाल लगायतले बोल्नुभएको थियो ।

पार्टीका जिल्ला उपाध्यक्ष तथा क्षेत्र नं. २ का क्षेत्रिय इन्चार्ज गीता अन्जानको अध्यक्षतामा भएको भेलामा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष विकास बन्जाडेको स्वागत मन्तव्य र पार्टी जिल्ला कमिटी सदस्य दीपक अनुरागीको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८ बुधबार ००:००  ९ : २६ बजे