काठमाडौं । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ का ‘उपविजेता’ मंगलप्रसाद गुप्तालाई नेकपा एमालेले उच्च प्राथमिकतामा राखेर पार्टी प्रवेश गराएको छ। उनलाई पार्टीमा प्रवेश गराउन मंगलबार अध्यक्ष केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु कपिलवस्तु आएका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनले गएको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए। निर्वाचनमा उनी कांग्रेसका अभिषेकप्रताप साहसँग पराजित भए। साहको १९ हजार ९ सय ६६ मत आएको थियो भने गुप्ताको १५ हजार ८ सय ३ मत आएको थियो।
एमालेले आफ्नै उम्मेदवार नउठाएर हृदयेश त्रिपाठीका उम्मेदवार ईश्वर दयाल मिश्रलाई समर्थन गरेको थियो। उनी तेस्रो नम्बरमा थिए।
संगठनका हिसावले एमाले मधेशी समुदायबीच कमजोर छ। त्यहाँ एमालेले प्रभाव जमाउन उक्त समुदायमा भिजेको नेता आवश्यक भएका कारण गुप्तालाई रोजेको हो।
पहाडी समुदायमा भने एमालेको राम्रै पकड छ। राजमार्गको उत्तर भागमा पहाडी समुदायको वर्चस्व भएका कारणले एमालेले विजयनगर गाउँपालिका प्रमुख र शिवराज नगरपालिकामा मेयर जितेको छ।
राजमार्गको दक्षिणतर्फ मधेशवादी पार्टीको वर्चस्व भए पनि उत्तरतर्फको मत निर्णायक हुँदै आएको छ। त्यसैलाई मध्यनजर गर्दै संघीय समाजवादी फोरमबाट दुईपल्ट संविधानसभामा जितेका साह गएको निर्वाचनअघि कांग्रेस प्रवेश गरेर चुनाव लडेका थिए।
गुप्ता उक्त क्षेत्रमा लोकप्रिय रहे पनि फोरमबाट उठेका कारण पहाडी समुदायको मत पाएका थिएनन्। पहाडी समुदायको मत कांग्रेसका साह र एमालेले समर्थन गरेका मिश्रलाई गएको थियो। आफू यही मतले पराजित हुन पुगेको महशुस गरेर गुप्ताले एमाले रोजेका हुन्।
२०४८ र २०५६ मा उनी कांग्रेसबाट, २०७० मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र २०७४ मा फोरमबाट सांसद उठेका थिए। सवै निर्वाचनमा ‘उपविजेता’मै चित्त बुझाएका उनी आगामी निर्वाचन जित्नकै लागि एमाले प्रवेश गरेका हुन्। उसो त मंगल अस्थिर नेता रहेका कारण उनी एमालेमा धेरै नटिक्ने कतिपयको विश्लेषण छ । ७३ बर्ष भएका मंगल अहिले पनि सहायताले हिँड्छन् । मंगलबार मंचमा चढ्दा पनि उनी अरुको सहायताले चढेका थिए । अब उमेर अदले पनि मंगल पार्टीमा सक्रिय हुने स्थितिमा छैनन् । त्यसकारण पनि उनी एमालेमा त्यति धेरै सक्रिय रहन नसक्ने टिप्पणीकारहरु बताउँछन् ।
आगामी निर्वाचनमा एमालेबाट टिकट नपाए या टिकट पाएर पनि चुनाव जित्न नसके उनले तटस्थ बस्ने या अर्को पार्टी रोज्ने निश्चित छ । संघिय निर्वाचनमा क्षेत्र नम्बर ३ मा उठाउने ललिपप देखाएर मंगललाई पार्टी पवेश गराउन एमाले सफल रहेको कतिपयको टिप्पणी छ । उसो त मंगल स्थिर नेता होइनन् । एमाले उनको चौथो दल हो ।
प्रतिक्रिया