९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बेलायतमा ओमिक्रोनबाट १२ जनाको मृत्यु, बिजुली गतिमा संक्रमण




एजेन्सी ।
बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रूपमा फैलिएको ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् ।

ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको पनि उनले जानकारी दिएका छन् । पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९० हजारसम्म दैनिक संक्रमित भेटिएका छन् । यो संख्या बेलायतमा कोरोना देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

विज्ञहरूले दैनिक संक्रमितको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । हिजो मात्रै अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका लागि हुने यात्राले ओमिक्रोन भेरियन्टको संक्रमण थप तीव्र गतिमा फैलिने चेतावनी दिएका थिए ।

क्रिसमसका बेला हुने यात्राले खोपको पूर्ण मात्रा लगाइसकेकाहरूमा समेत ओमिक्रोन फैलिन सक्ने उनको चेतावनी छ । ओम्रिकोनको तीव्र फैलावटपछि विश्वका विभिन्न देशहरूले रोकथामका लागि कडा प्रतिबन्धका नियमहरू लगाइरहेका छन् ।

अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले कोभिडविरुद्धको खोपको बुस्टर मात्रा दिने अभियान नै चलाएका छन् । अमेरिकामा पनि पछिल्ला दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ, खास गरी खोप नलगाएकाहरूमा संक्रमण तीव्र रूपमा फैलिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८ मंगलबार ००:००  ७ : ५३ बजे