मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु रुपन्देही लगायत तराईका जिल्लामा हिजो र अस्ति चिसो एक्कासी बढे पनि आज विहानैबाट भने घाम लागेको छ । आइतबारदेखि नै तराईका जिल्लाहरुमा हुस्सु र चिसो बतास लाग्न थालेपछि जनजीवन प्रभावित बनेको थियो । चिसो बढेसँगै सडक तथा बजारमा मानिसहरुको साँझ बिहानको समय आवागमनमा कमी आएकोमा आज भने त्यस्तो भएन । कपिलवस्तु लगायतका जिल्लमा आज विहानैदेखि मौसम सफा छ । घाम लागेको छ ।
घाम लागेपछि बालबालिका र वृद्धवृद्धालाई विशेष गरी सहज भएको छ । हाल नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईका भू–भागहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । यसबाहेकका अन्य भू–भागमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । अहिले बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया