बुटवल ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा ९ वर्षीय बालक शव फेला परेपछि स्थानीयले छानबिन गर्न माग गरेका छन्।
शनिबार रजत खड्गीका ९ वर्षीय छोरा आसारे खड्गी स्थानीय राजेन्द्र गोतामेको घरको झ्यालमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
राजेन्द्र गोतामे मृतक बालकको ठूलो बुवा रहेको प्रहरीले जनाएको छ। राजेन्द्रले चर्चलाई घर भाडामा दिएको र मृतक बालकका बुवा खड्गी चर्चमा ध्यान गरिरहेको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले शनिबार दिउँसो मण्डलीमा गएका बालक घरको झ्यालमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए।
झुण्डिएको अवस्थामा फेला परेपछि तत्कालै उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो। तर उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो।
प्रहरी नायब उपरीक्षक पौडेलले मृतक बालकको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको बताए।
स्थानीयले भने ९ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला पर्नु शंकास्पद रहेको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
प्रतिक्रिया