चन्द्रकान्त न्यौपाने, जितपुर ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कालीगण्डकी डाइभर्स परियोजनाबारे बोल्नु भएको छ । शनिबार कपिलवस्तुको बाणगंगा नगरपालिकामा आयोजना भएको एक कार्यक्रममा सांसद पन्थीले कालीगण्डकी डाइभर्सन परियोजना तत्काल सम्भव हुने परियोजना नभएको बताउनु भएको हो ।
बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वडा नम्बर १ उत्त्मनगरमा सातौँ साधारण सभा आयोजना गरेको थियो । त्यसमा विशिष्ट अतिथिका रुपमा बोलाइएका पन्थीले भन्नुभयो ‘हामीले ठुला कुरा गर्नु हुँदैन । जनताका ससाना कुरा पुरा गर्दै जानु पर्दछ । हामीले कालीगण्डकी डाइभर्सन परियोजनाको बारेमा पनि सुनेका छौँ । तपाइले पनि सुन्नु भएकै होला । तर त्यो परियोजना धेरै टाढाको परियोजना हो । सम्पन्न गर्न समस्या देख्छु ।’
२०६५ सालमा नै पाल्पा झुम्सा खानेपानी पाइप विस्तार गरिने भए पनि अहिलेसम्म त्यो अलपत्र अवस्थामा रहेको उहाँले बताउनु भयो । तपाईहरुले पाल्पा जाँदा अहिले पनि देख्नुहुन्छ होला जताततै पाइपहरु वेवारिसे छन् । त्यो योजना अलपत्र छ उहाँले थप्नुभयो ‘हाम्रो संयन्त्रले त्यत्ति पनि गर्न सक्दैन ।’ कालीगण्डकी डाइभर्सन परियोजना एमाले उपमहासचिव विष्णु पौडेलको महत्वकांक्षी परियोजना हो ।
उपभोक्तालाई शुद्ध खानेपानी दिलाउन सरकारले पनि राम्ररी काम गर्नु पर्ने उहाँको भनाई छ । अबको दिनमा बाणगंगामा पनि पानीको हाहाकार हुन सक्ने भन्दै बाणगंगा नदीलाई भण्डारण गर्ने योजनामा सबै लाग्नु पर्ने उहाँले बताउनु भयो ।
पार्टीको लेखा आयोगका उपाध्यक्षसमेत रहनु भएका सांसद पन्थीले सरकारले संचालन गरेका परियोजनाभन्दा उपभोक्ताबाट चलाइएका परियोजनाको काम राम्रो भएको बताउनु भयो ।
यसको दृष्टान्तको रुपमा बाणगंगा र गजेहडा भूपु सैनिक खानेपानी रहेको रहेको उहाँको भनाई छ । यस संस्थाले प्रदेशमै उत्कृष्ट ढंगबाट काम गरेको भन्दै अध्यक्ष राजेन्द्र प्रताप शाहको उहाँले मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।आफूले चारनम्बर नन्दनगरको ४ किलोमिटर सडक विस्तार र पीचको योजना यसअघि प्रदेश सरकारमा लगे पनि वर्तमान सरकारले काटेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो ‘यो कुरा मैले प्रदेश सरकारका मुख्यमन्त्री या जिम्मेवारमन्त्रीसंग राख्ने विचार गरेको थिएँ । यहाँ सरकारबाट राज्यमन्त्री रिना नेपाल सहभागि हुनुभएको छ । सुटुक्क कानमा भन्ने पनि विचार गरेको थिएँ । तर सबैको अगाडी भन्छु । जाबो तिनचार करोडमा हुने बाटो विस्तार योजना किन काटियो ? यो बाटो यस क्षेत्रको पर्यटन र विकासमा ठुलो अर्थ राख्ने बाटो हो । त्यो नकाटिनु पर्ने । यसमा मन्त्री ज्यूको ध्यानाकर्षण गराउँछु । कार्यक्रममा प्रमुख अतिथिको रुपमा राज्यमन्त्री रिना नेपाल हुनुहुन्थ्यो ।
प्रतिक्रिया