९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना आज



काठमाण्डौ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना जारी छ।

कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा आएको छ । सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको हो । अब बाँकी रहेका मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खसरआर्यतर्फका सहमहामन्त्रीका लागि आज बिहानदेखि मत गणना गरिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा खसरआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा हुनुहुन्छ ।

यी हरेक क्लस्टरबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् । यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

अहिलेसम्मको नतिजाअनुसार देउवासहित उहाँको समूहका चार जनाले जितेका छन् । सभापतिमा पराजित शेखर कोइराला समूहका तीन जना र प्रकाशमान सिंह समूहबाट एक जना विजयी भएका छन् । सहमहामन्त्रीको टुङ्गो लागेपछि कांग्रेस केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । सभापतिमा ५१ प्रतिशत नपुगेपछि मङ्गलवार पुनः मतदान गरिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

प्रकाशित मिति : २ पुस २०७८ शुक्रबार ००:००  ८ : १४ बजे