काठमाण्डौ ।
नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।
झण्डै १५ सय मत गन्दा उहाँले ९५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ६६० मत छ । यसैगरी डा। प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४९, डा.मिनेन्द्र रिजाल २७५ र डा।राजाराम कार्कीको ४६ मत छ ।
अग्रता लिइरहेका थापा डा। शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।
सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुनुहुन्छ । त्यसैगरी डा. कोइराला समूहबाट अर्का उम्मेदवार डा।मिनेन्द्र रिजाल र विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ ।
महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन् । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।
महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया