काठमाडौं ।
नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भइसकेका छन् ।
बुधबार राति २ बजेतिर सार्वजनिक मत परिणामअनुसार २१२१ मत ल्याएर खड्का र १९०८ मत पाएर गुरुङ कांग्रेसका उपसभापति बनेका हुन् ।
काठमाडौंका भृकुटीमण्डपमा आयोजित कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत सोमबार भएको चुनावमा दुई उपसभापति पदका लागि उम्मेदवार रहेका ७ नेतामध्ये संस्थापन अर्थात् सोही महाधिवेशनमा पुनः सभापति पदमा विजयी शेरबहादुर देउवा पक्षका खड्का र पराजित शेखर कोइराला प्यानलका गुरुङ विजयी भएका हुन् ।
कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार पराजित ५ उम्मेदवारले पाएका मत यसप्रकार छ ।
विजयकुमार गच्छदार – १९०६
चन्द्र भण्डारी – १५८०
सुजाता कोइराला – ६४४
महेश आचार्य – ५८९
दिव्यश्वरी शाह – १३२
नतिजाअनुसार पराजित पाँच नेतामा सबैभन्दा बढी (१९०६) मत गच्छदारले पाएका छन्, उनलाई केवल २ भोट (१९०८) ले उछिन्दै धनराज गुरुङ विजयी भएका हुन् ।
गच्छदारपछि हारेका नेतामा क्रमशः चन्द्र भण्डारी (१५८०), प्रकाशमान सिंह प्यानलबाट उठेकी सुजाता कोइराला (६४४), स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य (५८९) र सबैभन्दा पुछारमा दिव्यश्वरी शाह (१३२) देखिएका छन्।
प्रतिक्रिया