काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले आज पाँच मन्त्री र एक राज्यमन्त्री थपेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट तीन र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट २ मन्त्री र एक राज्यमन्त्री थप गर्दै पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
माओवादीबाट मन्त्री बन्नेमा घनश्याम दाहाल, विशाल खड्का र रत्नप्रसाद ढकाल छन् ।
मुख्यमन्त्री पाण्डेले दाहाललाई श्रम, रोजगार तथा यातायात मन्त्री, खड्कालाई वन तथा वातावरण मन्त्री र ढकाललाई युवा तथा खेलकुद मन्त्री बनाएको ढकालले बताए ।
यस्तै नेकपा एकीकैत समाजवादीबाट बसन्त मानन्धर र बसुन्धरा हुँमागाई मन्त्री भएका छन् ।
मानन्धर खानेपानी, उर्जा तथा सिंचाईं र हुँमागाई कृषि तथा पशुपंक्षी मन्त्री नियुक्त भएका छन् ।
नेकपा एकीकृत समाजवादीकी ईन्द्रमाया गुरूङलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्री बनाइएको छ ।
बागमती प्रदेशमा आज नियुक्त भएका पाँच मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम थप गरेका मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्मा र राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १७२ अनुसार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मन्त्री थपेसँगै वागमती प्रदेशमा ११ जनाको मन्त्रिपरिषद भएको छ। मन्त्रिपरिषद विस्तारमा नेपाली कांग्रेसबाट भने कोही परेका छैनन् ।
बागमती प्रदेशमा अहिले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा समर्थित गठबन्धन सरकार छ ।
प्रतिक्रिया