काठमाडौँ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई जिताउन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।
थापाले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको रुपान्तरण अहिलेको नेतृत्वबाट सम्भव नभएको भन्दै कोइरालालाई मतदान गर्न अपिल गरेका हुन्।
सोमबार भएको निर्वाचनबाट सभापतिमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाए पनि आज पुनः दोस्रो चरणको निर्वाचन हुँदैछ। सभापति पदका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए। त्यसमध्ये सबैभन्दा बढी मत पाउने देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ।
सिंह, निधी र गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने घोषणा गरेपछि थापाले कोइरालालाई मतदान गरी विजयी बनाउन अपिल गरेका हुन्। थापा कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्।
‘आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग जोडिएको छ। तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्तान विन्दु हुनेछ।
एक पटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरुको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा। शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपिल गर्दछु।’
प्रतिक्रिया