९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमालेमा ओलीजीको गुटबन्दीले छलाङ मार्‍योः भीम रावल



काठमाडौँ ।

अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् । पार्टीको दसौं महाधिवेशनमा ओलीसँग पराजित भएका नेता भीम रावलले पनि पार्टीमा गुटबन्दी बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

रावलले सामाजिक सञ्जालमार्फत केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै गुटबन्दीले छलाङ मारेको बताएका छन् ।

रावलले ट्विटरमा लेखेका छन् एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो। यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टिको नमुना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।

रावलले अध्यक्षमा उम्मेदवारी दिए पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिएनन् । उनले पार्टीको कुनै पनि विभागको जिम्मेवारीमा नरहने बताएका थिए । अध्यक्ष ओलीले पदाधिकारीमा पराजित भीम आचार्य र घनश्याम भुसाललाई स्थायी कमिटीमा राख्न प्रस्ताव गरेका छन् ।

४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा तथा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा छलफल नगरिएको भनी ओलीनिकट नेताहरूले समेत गुनासो गरेका छन् ।

भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले नाम प्रस्ताव गरेलगत्तै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीका साथै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डबिनै नाम आएको भन्दै विरोध जनाएका थिए ।

‘कम्तीमा १९ पदाधिकारीबीच छलफल गरेर मापदण्ड बनाउनुपर्थ्यो । त्यसो गर्दा सबैले चित्त बुझाउने ठाउँ हुन्थ्यो । पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनुपर्छ,’ बैठकमा ज्ञवालीले भनेका थिए ।

उपाध्यक्ष शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । ‘महत्त्वपूर्ण कमिटी गठन र केन्द्रीय सदस्यको मनोनयनमा अध्यक्षले सल्लाह गरेको भए सजिलो हुन्थ्यो । यसअघि छलफल र सल्लाह भएन । मूल्यांकनको परिपाटी हिजो थियो । आज त्यसलाई नजरअन्दाज गरियो,’ शाक्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

अध्यक्ष ओलीले व्यक्तिगत निर्णय लिएको भन्दै उपमहासचिव गुरुङले असन्तुष्टि जनाएका थिए । मापदण्ड नबनाई व्यक्तिगत निर्णय गर्दा वरिष्ठ नेताहरूसमेत पोलिटब्युरोमा छुटेको उनको भनाइ थियो ।

‘विधिसम्मत तरिकाले छलफलबाट सबै टुंग्याउनुपर्थ्यो । व्यक्तिगत निर्णय लिनु गलत हुन्छ । पार्टीलाई सामूहिक निर्णय प्रणालीमा लैजानुपर्छ,’ गुरुङले भनेका थिए ।

केन्द्रीय सदस्यको मनोनयन र पोलिटब्युरो गठनमा उपाध्यक्ष सुवास नेम्वाङ, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि असन्तुष्टि राखेका थिए ।

नेम्वाङले इलामबाट मणि लिम्बूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने बताएका थिए । भुसालले अन्यायपूर्ण र अपमानपूर्ण प्रस्ताव आएको टिप्पणी गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७८ सोमबार ००:००  ३ : २१ बजे