काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले मौका खेर फालेको थियो । यस बराबरीसँगै नेपाल र बंगलादेशले समान १ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने तालिका छ । यस्तै नेपालले भुटानसँग १७ डिसेम्वरमा तथा भारतसँग १९ डिसेम्वरमा खेल्नेछ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाको सहभागिता रहेको छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।
त्यसअघि शनिबारै भएको च्याम्पियनसिपको पहिलो खेलमा भुटानले श्रीलंकालाई ५–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।भुटानको फराकिलो जितमा पेमा याङजोमले दुई तथा छिरिङ छोदेन र सोनाम ल्हामोले समान एक गोल गरिन् । एक गोल उपहार पाएको थियो ।
प्रतिक्रिया