९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदै, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने




काठमाण्डौँ ।
नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।

अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ ।

विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ । प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने उनले जानकारी दिए ।

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।
यस्तै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन शनिबारदेखि धनगढीमा सुरु हुँदैछ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको गरी शनिबार र आइतबार दुई दिनसम्म प्रदेश सम्मेलन हुने प्रदेश कमिटीले जानकारी दिएको छ ।

प्रदेश सम्मेलनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले जानकारी दिए । शनिबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने उनको भनाइ थियो ।

सम्मेलनमा निर्वाचित ६ सयसहित एक हजार १९७ जना प्रतिनिधिको उपस्थिति रहने बताइको छ । बन्दसत्रबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई पूर्णता दिइने बताइएको छ ।

महिला ३५ प्रतिशत, युवा २० प्रतिशत दलित १५ प्रतिशत सहितको समावेशी कमिटी निर्माण गरेर सम्मेलन सम्पन्न हुने भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७८ शनिबार ००:००  ६ : ४० बजे