बुटवल ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल शनिबार बुटवलमा आउने भएका छन । नेकपा एकीकृत समाजवादी रुपन्देहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एंव प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुटवल आउने भएका हुन् ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एंव प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
शनिबार बिहान ११ बजे बुटवल–८ सुख्खानगरस्थित लुम्बिनी प्रदेश र रुपन्देही पार्टी कार्यालय उद्घाटन गर्ने र त्यसलगत्तै योगिकुटीस्थित होटल पौवामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा. बालकृष्ण चापागाईले केपी ओलीको स्वेच्छाचारी र निरकुंश कार्यशैलीका कारण विद्रोह गरेर पार्टी पुर्नगठनमा लाग्नुपरेको बताए । उनले आफूहरु बाध्य भएर विद्रोहमा उत्रनुपरेको बताउँदै देशभर छोटो अवधिमा संगठन विस्तार तीव्र रुपमा अघि बढेको बताए ।
पार्टीका रुपन्देही अध्यक्ष राजु गुरुङले डिलमा पुगेको कम्युनिष्ट आन्दोलनलाई माधव कुमार नेपालले बचाएको बताए । उनले ओलीकै कारण संविधान र कम्यूनिष्ट आन्दोलन नै सकिने अवस्थामा पुगेकाले त्यसलाई बचाउनका लागि दर्ताका हिसाबले नयाँ पार्टी गठन गरेर अघि बढेको बताए ।
उनले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरुले जित्ने दावी समेत गरे । रुपन्देहीमा करिब ३५ सय सदस्यता वितरण भएको बताउँदै ८ हजार सदस्य बनाउने अध्यक्ष गुरुङले बताए ।
रुपन्देहीमा बुटवल उपमहानगरसहित ५ नगरपालिका र अधिकांश स्थानीय तहहरुमा कमिटी गठन भइसकेको केन्द्रीय सदस्य तथा रुपन्देही सह–इञ्चार्ज सिद्धिचरण भट्टराईले बताए ।
कार्यक्रममा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव एंव लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरी लगायतका नेताहरुको उपस्थिति रहने प्रचार विभाग प्रमुख सरिता श्रीसले बताइन् ।
प्रतिक्रिया