१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सरकारले दिने भनेको बुस्टर डोज के हो र कसले लगाउन पाउँछन् ?



काठमाडौं ।

सरकारले कोरोनाभाइरस कोभिड-१९० विरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर’ डोज दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको हो ।

आइतबार बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी (क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका नागरिक) लाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यस्तै, संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको तेस्रो मात्रा खोप दिने विषयमा मन्त्रालयमा छलफल भइसकेकाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको बताए ।

सरकारले पूर्ण जनसङ्ख्यालाई कोरोनाविरुद्ध खोपको पहुँचमा नपुर्‍याइकनै बुस्टर डोजको तयारी गरेको छ । यद्यपि नेपालको कुल जनसङ्ख्याको ३४।१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप २८.६ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले तेस्रो मात्रा खोपको विषयमा छलफल गरिरहँदा अमेरिकाले पहिलो/दोस्रो मात्रा खोप लगाएका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको छ । इजरायलले सबैभन्दा अघि आफ्ना दीर्घरोगी, वृद्धवृद्धालाई बुस्टर खोप दिएको हो । यस्तै, यूएई, चीन, चिली, उरुग्वे, थाईल्याड, फ्रान्स, जर्मनी लगायतका राष्ट्रले बुस्टर खोप दिइरहेका छन् ।

ओमिक्रोन भेरियन्ट छोटो अवधिमा विश्वका विभिन्न राष्ट्रमा देखिएपछि वृद्धवृद्धा तथा दीर्घरोगीलाई विभिन्न मुलुकले खोपको बुस्टर डोज दिइरहेका छन् ।

बुस्टर डोज कसले पाउँछन् ?

कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका दीर्घरोगीलाई बुस्टर डोज दिने योजना बनाएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले जानकारी दिए ।

‘राष्ट्रिय खोप सल्लाहकार समितिले दीर्घरोगीलाई खोपको बुस्टर डोज दिन सल्लाह दिएको छ,’ उनले भने, ‘अब अतिरिक्त मात्रा खोप दिनका लागि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्छ । त्यसअनुसारको निर्देशनपछि खोप दिन सुरु गर्छौँ ।’

दुवै मात्रा खोप लगाएको तीन महिना काटेका दीर्घरोगीलाई तेस्रो मात्रा दिनेबारे छलफल भइरहेको उनको भनाइ छ । उनले भने, ‘खोप लगाएका व्यक्तिमध्ये दीर्घरोगीको एन्टीबडी तीन महिना मै घटेको पाइएकाले उनीहरुलाई तेस्रो मात्रा खोप दिनेबारे छलफल भएको हो ।’

यता चीनले भेरोसेल खोपको दुई मात्रा पूरा गरेको तीन महिनापछि ६० वर्षमाथिका नागरिकले बुस्टर डोज लगाउन मिल्ने बताउँदै आएको छ ।

नेपालमा पहिलो पटक गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । यस हिसाबले पूर्ण खोप लगाएको ६ महिना पुगिसकेको छ । खोप लगाएको ६ महिना कटेपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुँदै गएको अध्ययनहरुले देखाएकाले बुस्टर खोप कुन समूहलाई दिने भन्नेबारे अध्ययनको आवश्यकता रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनर तथा अन्य नागरिकको एन्टीबडीको अवस्था र पछिपछि दुवै मात्रा खोप लगाएका नागरिकको एन्टीबडीको अवस्थाबारे अध्ययन गरेर आवश्यकताको आधारमा खोपको अतिरिक्त मात्रा दिनुपर्नेमा उनको जोड छ ।

पूर्ण मात्रामा खोप लगाउनेहरुको एन्टीबडी विकास भए पनि पछि क्रमशः घट्दै गएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनको निष्कर्ष थियो । दुई महिनाअघि कोभिशिल्ड, भेरोसेल र अन्य खोप लगाएका र नलगाएका १ हजार ४४८ जनाको सहभागिता एन्टीबडीबारे अध्ययन गरिएको थियो । जसमध्ये ८१ प्रतिशतले खोप लगाएका थिए । त्यसमा पनि कोभिशिल्ड लगाउने ८५.२ प्रतिशत थिए भने भेरोसेल लगाउने १४.५ प्रतिशत थिए ।

खोप कार्यक्रममा सहभागीमध्ये ६१ प्रतिशतमा एन्टीबडी रहेको अध्ययनले देखाएको छ । खोप लगाएको दिनदेखि तुलना गरेर र दोस्रो महिनामा नमुना संकलन गर्दा ८२.३३ प्रतिशत सहभागीमा एन्टीबडी देखिएको छ भने चौथो महिनामा एन्टीबडी घटेर ४३.७५ मात्र देखिएको थियो ।

बुस्टर खोपबारे के भन्छ डब्ल्यूएचओ ?

कोरोनाभाइरसको भेरियन्ट परिवर्तन भइरहँदा पूर्ण खोप लगाएका धनी राष्ट्रले आफ्ना नागरिकलाई बुस्टर खोप दिइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सबै देशले आफ्ना जनताको जीवनरक्षा गर्न पाउनुपर्ने भन्दै बुस्टर खोपको विषयलाई चाहेर पनि स्वीकार गर्न नसकिने बताएको थियो । धेरैजसो खोपमा प्रायः प्रारम्भिक शृङ्खला र बुस्टर हुन्छ । अर्थात् बुस्टर मात्रा भनेको खोपको अतिरिक्त मात्रा हो ।

डब्ल्यूएचओले बुस्टर खोपलाई प्राथमिकतामा नपारेर खोपको पहुँच विश्वभर फैलाउनुपर्ने बताउँदै आएको छ । तर, डब्ल्यूएचओले आफ्नो राष्ट्रका पूर्ण जनसंख्यालाई खोप लगाइसकेपछि एन्टीबडी कम भएका दीर्घरोगीलाई तेस्रो मात्रा दिन सकिने बताउँदै आएको छ । डब्ल्यूएचओले बुस्टर खोपलाई प्राथमिकतामा नपारेर खोपको पहुँच विश्वभर फैलाउनुपर्नेमा जोड दिने गरेको छ ।

के हो बुस्टर डोज ?

बुस्टर मात्रा भनेको खोपको अतिरिक्त मात्रा हो । प्रारम्भिक शृङ्खला भन्नाले केही महिना वा वर्षको फरकमा लगाइने एक वा त्यसभन्दा बढी खोपको डोज अर्थात् मात्रा भन्ने बुझिन्छ, यसले व्यक्तिलाई ब्याक्टेरियल वा भाइरल सङ्क्रमणबाट आधारभूत सुरक्षा प्रदान गर्छ । धेरै भाइरल संक्रमणका लागि बुस्टर खोप सामान्य हो । उदाहरणका लागि मौसमी फ्लूको प्रत्येक वर्ष बुस्टर खोप लगाउनुपर्छ । यस्तै, भाइरसले आफ्नो अनुवांशिक गुण परिवर्तन गरिरहेको हुनाले खोप हरेक वर्ष परिवर्तन हुन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ७ : ४४ बजे