८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

२४ घण्टामा ३ सय १५ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय तीन जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ७६ प्रतिशत अर्थात् तीन सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख २१ हजार नौ सय ४९ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार पाँच सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप दुई सय एक जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख तीन हजार तीन सय ६९ पुगेको छ । यही अवधिमा ६ जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ३५ पुगेको छ । नेपालमा अहिले सात हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, २४ घण्टामा थप एक लाख ४१ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ५९ हजार दुई सय जनाले पूर्ण मात्रा र एक करोड एक लाख २७ हजार चार सय जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  ५ : ०० बजे