१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

समावेशी र समानुपातिक मान्यतालाई साँचो अर्थमा लागू गर्नुपर्छः अध्यक्ष दाहाल



बुटवल ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समावेशी र समानुपातिक मान्यतालाई साँचो अर्थमा लागू गर्नुपर्ने बताएका छन्।

उनले समानुपातिक र समावेशी संविधानकै विशेषता भएकाले सबै दल मिलेर त्यसतर्फ उन्मुख हुनुपर्ने उल्लेख गरे।

सवारी दुर्घटनामा परी निधन भएका माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार, विकास, समृद्धि मार्फत समाजवाद तर्फ लैजानुपर्ने उल्लेख गरे।

उनले सबै दलहरूको अहिले महाधिवेशन र सम्मेलन चलिरहेको भन्दै मुलुकमा चुनावी माहोल पनि सुरु भएको बताए। उनले चुनावका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए।

प्रचण्डले स्वर्गीय बन्जाडेले पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि पुरा गरेको भन्दै स्मरण गरे।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणि खनालले द्वन्द्वकालमा थुप्रै लडाईँमा आफूहरुले सहकार्य गरेको सम्झिए।

बुटवलको जितगढीमा मोटरसाइकल दुर्घटनामा परी गत बुधबार बन्जाडेको मृत्यु भएको थियो।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ८ : ०४ बजे